सूचनाको शक्ति - The Power Of Information

        

बाघ आक्रमणबाट बर्दियामा एक महिलाको ज्यान गयो

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट बुधबार फेरि एक महिलाको ज्यान गएको छ । बर्दियाको मधुवन नगरपालिका–३ को कोठियाघाटको सम्झना सामुदायिक वनभित्र घाँस काट्न गएकी महिलाको ज्यान गएको जनाइएको छ ।

बाघको आक्रमणबाट मधुवन नगरपालिका–३ कोठियाघाट बजारकी २७ वर्षीय रिना सुनारको ज्यान गएको जनाइएको छ । बुधबार दिउँसो २ बजेतिर समूहमा घाँस काट्न गएका बेला बाघले सुनारलाई आक्रमण गरेको थियो ।

यसअघि फागुन १७ गते मात्रै बर्दियाको गेरुवामा बाघले भैंसी चराउन गएका ६५ वर्षका एक पुरुषलाई आक्रमण गरेर ज्यान लिएको थियो । योसँगै बर्दियामा यस वर्ष बाघको आक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय बर्दियाका बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीयबासी थप त्रसित बनेका छन् ।

बाघ आक्रमणका घटना दिनहुँ बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यलयले सूचना जारी गरेर निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाइभैसी चराउन तथा घाँस दाउरा लिन नजान पटक पटक आग्रह गरिरहेको छ । डिभिजन वन प्रमुख महेन्द्रराज वाग्लेले बाघ आक्रामक बनिरहेकाले केही समय जंगल प्रवेश नगर्न र गर्नै परे पनि एक्लै नजान सम्पूर्ण स्थानीयमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार १३:५०