बाँके । गायक दुर्गेश थापा र सम्राट चौलागाईंले बाँकेको नरैनापुर गाउँपालिकामा आगलागीमा परेका परिवारलाई राहत वितरण गरेका छन् । गाउँपालिकामा भएको आगलागी घटना सुनेपछि आफूहरू यसै बस्न नसकेकाले सक्दो सहयोग गरेको दुर्गेशले फेसबुकमा लेखेका छन् ।
फेसबुकमा खाद्यान्न सामग्री ओसारपसार गरेको फोटा सेयर गर्दै उनले लेखेका छन्, ‘अछामको कार्यक्रम सकेर आउने क्रममा बाँकेको नरैनापुरमा भएको २६ घर आगलागी घटना सुनेपछि हामी केही नगरी बस्न सकेनौं । आज नै हामीले आगलागीमा परेका परिवारलाई हाम्रो सामर्थ्यले सक्ने जति सहयोग गरेका छौं । छिट्टै नै सम्पूर्ण परिवारमा पुरानो खुसी फर्कियोस् । सेवा नै धर्म हो ।’
दुर्गेशले अछामको कार्यक्रममा पाएको पारिश्रमिकले नरैनापुर आगलागी पीडित घरपरिवारलाई सहयोग पुर्याएका हुन् । उनले भने, ’सेवा नै धर्म हो भन्ने मान्यता राख्छु । नरैनापुरको घटना सुनेपछि अछामको कार्यक्रममा मिलेको पारिश्रमिकले त्यहाँको बासीहरूलाई खाद्यान्न सामग्री लिएँ ।’ टोलीले वडा सदस्यको नेतृत्वमा २६ घरधुरीलाई चामल, दाल, नुन, तेललगायत सामग्री वितरण गरेको हो । सो गाउँमा मधेसी समुदाय बढी भएका कारण संवाद गर्न गाह्रो परेपछि वडाध्यक्षले सहयोग गरेको बताए ।





।