सूचनाको शक्ति - The Power Of Information

        

सैनिक दिवस विशेष

नेपाली सेना र समाजको अन्तरसम्बन्ध

सेनाले देश र जनताको सुरक्षा गर्ने हुँदा सेना अब्बल, सबल र सक्षम हुनु जरुरी छ ।

नागरिक अर्थात् जनताबिनाको कुनै पनि राज्य हुन सक्दैन । राज्यभित्र बस्ने नागरिकको सुरक्षा सार्वभौम हित र राष्ट्रको सुरक्षा संरक्षण गर्नका लागि प्रायः हरेक देशमा सेनाको स्थापना गरेको हुन्छ । सेना यस्तो शक्ती हो, यो संगठनले आफ्नो राष्ट्रको सार्वभौम सत्ता अखण्डता अक्षुण राख्न प्रमुख भूमीका खेल्दछ । राष्ट्रको हितविपरित बाह्य तथा आन्तरिक आक्रमणको सामाना गर्दै विद्रोहीहरुसँग लडेर आफ्नो देश र जनताहरुको सुरक्षा दिने सेनाको योगदान सबै देशमा उत्तिकै महत्व र गौरबशाली छ । आज महाशिवरात्री पर्व तथा सेना दिवस पनि भएको र म एउटा सेनाको जवानको बुवा पनि भएको कारण मैले यो कथा लेखेको हुँ ।

हाम्रो देश नेपालमा पनि सेनाहरुको गौरवपूर्ण ईतिहास बिर्सन सकिँदैन । दक्षिण एसियाकै पुरानो मानिने नेपाली सेनाले यो राष्ट्र निर्माण र देश विकासका लागि गरेको योगदानको उच्च सम्मान हुँदै आएको छ । तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले थालनी गरेको शाही सेना हुँदै नेपाली सेना राष्ट्रको सुरक्षाको प्रमुख अंग मानिन्छ । देशभित्रको आन्तरिक अपराध अनुसन्धान नियन्त्रण नागरिकहरुको जिउधनका साथै शान्ति सुरक्षा कानुन अनुसार राज्य सञ्चालन गर्न गराउने राज्यका अन्य निकायजस्तै सुरक्षाका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीसहित अरु सुरक्षा संयन्त्रले काम गर्दै आएका छन् ।

नेपाली सेना राष्ट्रिय सुरक्षामा चुनौती आएको खण्डमा र देशमा संकट आएपछि मात्र राष्ट्र विद्रोही, अपराधी, आतङ्ककारीहरुको खोजी गर्दै उनीहरुलाई नियन्त्रण गर्न आफ्नो शक्ति प्रर्दशन गर्ने गर्दछ । अन्यथा सामान्य अवस्थामा सेना शान्ति सुरक्षाको आन्तरिक मामिलामा चाँसो राखे पनि हस्तक्षेप गर्दैन । यसका साथै अन्य राष्ट्रिय आरक्षण केन्द्र साथै उच्च जोखिमयुक्त स्थान र व्यक्तिको सुरक्षामा पनि नेपाली सेनाले जिम्मा लिएको देखिन्छ । सेना राष्ट्रको सुरक्षाको अभिन्न अंग भएको हुँदा राष्ट्रमा हुने दैनिक प्रशासनीक गतिविधि नागरिकहरुको जनजिवनको अवस्था राज्यको स्रोत साधन परिचालन र विकास निर्माणको अवस्थाको पनि सेनाले मसिनोरुपमा बुझविस्तार गरी अनुसन्धान र चासो गर्ने गरेको हुन्छ । सेना राष्ट्रको सुरक्षाका निम्ति जति सम्वेदनसिल छ, त्यत्तिनै देशका नागरिकको अवस्थाप्रति पनि संवेदनशील रहँदै आएको छ ।

राष्ट्र, राष्ट्रियताको सुरक्षा दिइरहेन क्रममा मुलुकका शासकहरुले मुलुकको हकहित बिपरित काम गर्दै गए र नागरिकको शासकहरुप्रतिको बितृष्णा र आलोचना हुँदै गएमा सेनाले मुलक र नागरिकको हितका लागि मुलुकको बाघडोर पनि समाल्न सक्ने हेक्का राख्दछ । यस्तो विषम अवस्थामा देश समाल्न यो संगठनलाई नैतिक अधिकार र सार्वभौम दायित्व पनि रहन्छ । सेनाले नागरिकहरुको आशु, दुख र बेदनाको खोजी गर्दै त्यसको सामाधान पनि गर्छ । नागरिकहरुको चित्कार लाइ टुलुटुलु हेरेर बस्न सक्दैन सेनाले । त्यसैले सेना राष्ट्रको सुरक्षा हितका साथै नागरिकहरुको हकहित सुरक्षा र विकासका लागि पनि उतिकै संवेदनशील र जिम्मेवार रहन्छ । सैनिक संगठन राष्ट्रको सुरक्षा दिने देशमा संक्रमण, अतिक्रमण भए दुष्मनसँग लड्ने राष्ट्रको लागि आफ्नो जिउ ज्यानको बलिदान दिने जनशक्ति र योद्धा हो ।

हाम्रो देशको सेनाले नेपालमा मात्र सेवा नदिएर अन्तर्राष्ट्रिय जगतमा पनि शान्ति सेनामा गएर विश्वसामु नेपालको शिर उच्च राख्दै देशको प्रतिष्ठा जोगाएको छ । नेपाली सेनाको साहस र कार्यकौसल विश्वसामु उदाहरणीय छ । यो संगठनमा काम गर्ने सुरक्षाकर्मी योद्धाहरु पनि जनताकै छोराछोरी भएकाले नागरिकहरुको पनि राष्ट्रिय संकटमा देशको रक्षा गर्ने राष्ट्रिय अस्तित्व र स्वाभिमान बचाउनका लागि सेनाको साथ सहयोग दिनुपर्ने हुन्छ । प्रत्यक्षरुपमा राष्ट्रको सुरक्षा दिने संगठन सेना भए पनि, अप्रत्यक्षरुपमा सबै नागरिकहरु बर्दीबिनाका राष्ट्र सेवक सुरक्षाक्रमी नै हुन् । देशको लागि परिआए सबैले भौतिक, नैतिकरुपमा देशका लागि रगत बगाउन तयार हुनुपर्छ । देशको सुरक्षा, अखण्डता, राष्ट्रियताको संरक्षण सम्वद्र्धन गर्नु हरेक नेपालीको कर्तव्य हो । राष्ट्र र राष्ट्रियताको घातहुने कुनै गतिविधि हुने गरेको भए वा देखे सुनेमा नागरिकहरुले सुरक्षा निकायलाई जानकारी दिनु दायित्व र कर्तव्य हुन्छ । हुनत सेनाले पनि आफ्ना जनसम्पर्क सेनाहरु राखेर समाजमा भएको गतिविधिका बारेमा दैनिक जानकारी लिएको हुन्छ ।

तथापी नागरिकहरुले पनि राष्ट्र र राष्ट्रियता र समाजमा भैपरि आउने संकट, विपद्, अपराधजन्य गतिविधिका बारेमा सेनासँग सम्वन्ध राखी जानकारी दिँदा पनि उपयुक्त मानिन्छ । नागरिकहरुले सेनाको आन्तरिक र बाहै्र सुरक्षा योजना, हातहतियार, उपकरण प्रविधिको अवस्था र व्यवस्थापनबारे बाहिर जानकारी दिनु उपयुक्त मानिदैन र यसका वारेमा चाँसो लिनु पनि हुँदैन । यस्तो सुरक्षा संग सम्वन्धीत गोप्यकुरा सकभर जनताले थाहा पाउनु आवस्यक पनि हुँदैन । सेनाको सुरक्षा योजना र आन्तरिक हातहतियार उपकरणसम्बन्धी बाहिर सार्वजनिक हुँदा सेना कमजोर हुन्छ । सेना बलियो भयो भने देश बलियो हुने भएकाले सेना कमजोर हुनु भनेको हाम्रो राष्ट्रियता, स्वाधिनता र स्वाभिमान कमजोर हुनु हो । सेनाहरुको संस्थागत र व्यक्तिगत मानसम्मानमा आँच आउने गरी दुर्व्यवहार र अपमान गर्नुहुँदैन ।

सेना र सैनिक संगठन पनि हाम्रो समाजभित्रकै अंग र राज्यकै संयन्त्र हो । अरु सार्वजनीक निकायले जनताको सेवा सुविधा दिएजस्तै सेनाले राष्ट्र र राष्ट्रियताको सुरक्षाको संरक्षण गर्दछ । यो संगठनले प्रत्यक्षरुपमा जनताको विकास सेवा सुविधा नदिए पनि यसको सम्वन्ध हाम्रो बजार क्षेत्र, भेटघाट, आपतविपद् र विकास निर्माण साथै कतिपय सामाजिक जनचेतना जगाउने कार्यमा पनि हुन्छ । सेना नागरिकसँग जोडिएको विषय हो । सेनाले सामाजिक उत्तरदायित्व बहन गर्दै राष्ट्र निर्माणका ठुला आयोजना परियोजना साथै आफ्ना छुट्टै अस्पताल र विद्यालयहरुजस्ता जनतालाई सेवा दिने संस्था स्थापना गरी नागरिकसँगको सम्बन्धलाइै अझै सुमधुर बनाउँदै आएको छ । साथै सेनाले सञ्चालन गरेको सैनिक कल्याणकारी कोषबाट सञ्चालन गरिएका विभिन्न सेवाले पनि सेनाको जनउत्तरदायी कार्यको नागरिक तहबाटै प्रशंसा हुँदै आएको छ । अहिले सैंनिक संगठन नागरिकहरुको आस्था र भरोसाको केन्द्र बन्दै गएको यथार्तता कसैले बिर्सन सक्दैन ।

सेनाले आफुलाई यो समाजबाट हामी फरक व्यक्ति संगठन हुँ भनेर दम्भ र घमण्डजस्तो व्यवहार र स्वभाव गर्नु पनि हुँदैन । किनभने सेना पनि राष्ट्रकै कोषबाट सञ्चालित राष्ट्रको हित र संरक्षण गर्ने सार्वजनिक निकाय हो । सार्वभौमशत्ता जनतामा निहित हुने भएकाले हरेक राष्ट्रको सबैभन्दा ठुलो शक्ति जनता अर्थात् नागरिक नै हुन् । यदि जनता नै भएन भने देशको कल्पना नै गरिँदैन । अनि सेना सुरक्षा सरकारको त आवश्यकता नै भएन । त्यसो भएको हुँदा सेना पनि जनउत्तरदायी, जनमुखी र नागरिकप्रति जवाफदेही हुनैपर्छ । सेनामा हुने आन्तरिक सुरक्षा योजना हातहतियारबाहेक अन्य गतिविधि र सूचना जनताले थाहा पाउनु नागरिकको अधिकार हो । हुनत हाम्रो नेपालको सैनिक सम्बन्धका विषयमा बनेका नियम कानुनका केही सबल र दुर्लव पक्ष होलान् । यसो हेर्दा सैनिक संगठन अन्य निकायभन्दा अलग र शक्तिशाली मानिन्छ । हुन पनि हो राष्ट्र र राष्ट्रियताको सुरक्षा गर्ने प्रमुख अंग सेना अन्य निकायजस्तो पनि हुन सक्दैन । सेना आफैमा शारीरिक रुपमा बलियो खाइलाग्दो हुनुपर्छ । र उसको खानपान, रहनसहन अन्य सरकारी कर्मचारीभन्दा फरक हुनुपर्छ ।

सेनाभित्र नागरिकको पहुँच हुँदैन, उनीहरुको आवाज सुनिँदैन, सेनाको बारेमा गुनासो टिप्पणी गर्नुहुदैन भन्ने प्रचलन अझै पनि समाजमा छ । यसो भन्दैमा सुरक्षाको हिसावमा अति संवेदनशील मानिने सेनाजस्तो निकायलाई अरु निकायजस्तो छाडा र खुला पनि गरिनुहुँदैन । सेनाको बारेमा केहि जानकारी गुनासो आलोचना गर्नु पाउनुहुँदैन भन्ने पनि पटक्कै ठिक होइन । पछिल्लो समयमा नेपाल सरकारले सेनालाई विभिन्न विकास निर्माणका कार्यको जिम्मा दिएको देखिन्छ, तर यसविषयमा मेरो असुन्तुष्टि रहेको छ । आफुखुशी आफ्नो कोषवाट जनहितकारी योजना कार्यक्रम गर्नु उपयुक्त भए पनि सेनाले व्यवसायीकरुपमा यस्ता विकास निर्माणका योजनाहरुको जिम्मा लिएर काम गर्दा राष्ट्रिय सुरक्षाको यस्तो अभिन्न अंग र योद्धाहरु मजदुरजस्तो देखिन्छन् । यस कार्यले सेनाको पेशागत सम्मानमा असर पर्न जान्छ र स्रोत साधनको दुरुपयोग भई जनविश्वास र आस्था घट्दै जान्छ ।

नागरिक र सेनाको सम्बन्ध सुमधुर हुनुपर्छ, किनकी सेनामा जागिर गर्न गएका छोराछोरीहरु कुनै अर्को वर्ग समुदायका नभई यही समाजका छोराछोरी हुन् । उनीहरु जीवनको केही वर्ष सैनिक संगठनमा कार्यरत भई जिवन व्यतित गरे पनि पुनः घर गाँउ समाजमै फर्कने गर्दछन् । सेनाको पनि बाल्यकाल र वयस्क जीवन समाजमै व्यतित हुन्छ । चाहे आफ्नो देश होस्, चाहे परदेश, सेनाले आतङ्ककारी विद्रोहीबाहेक अन्य जनताको शान्ति सुरक्षा र भलो चिताएको हुन्छ । हरेक अभिभावकले आफ्नो भाईछोरा सेनामा जागिर खान पठाएका छन् । यसो हेर्दा सामान्य मध्यम परिवारबाट यस पेशामा जागिर खान गएका बढी देखिन्छन् । जागिर खानेकुरा अलग हो, तर आफ्नो भाई, छोराछोरीलाई राष्ट्रको लागि जीवन समर्पण गर्न तथा राष्ट्रको सुरक्षाका लागि जीवन बलीदान गर्न सेनामा जागिर गर्न लगाउनु पनि यस्ता परिवारजन धन्यवादका पात्र हुन् ।

आफ्ना छोराछोरी, भाईभतिजा सेनामा पठाएकोमा पनि सैनिक परिवार र आफन्तलाई गौरव लाग्ने र मान्ने वातावरण सेनाले बनाउनुपर्छ । यस कुरामा सैनिक संगठन र यसका उच्च अधिकारीहरुले संवेदनशील हुनु जरुरी छ । अन्यथा भविष्यमा सेनामा भर्ना हुने मान्छे पाउँदैन कि भन्ने पनि चिन्ता छ । एउटा सेनाले आफ्नो संगठनको जिम्मेवारी बफादारी, कर्तव्यनिष्ठ, निडर भएर युद्ध मोर्चामा लड्नुपर्ने हुन्छ । तर यसका पछाडी उसको आफ्नो बुबाआमा, जहान, छोराछोरी, आफन्त, ईष्टमित्र पनि त जोडिएको हुन्छ नी । यसरी हेर्दा घरपरिवार र समाजबाट हुने सम्बन्धले पनि सेनाको सामाजिक र भावनात्मक असर परेको हुन्छ । यसले सेनाको कार्यस्थलमा पनि असर पार्छ । त्यसैले सेनाजस्तो राष्ट्रको लागि आफ्नो सिंगो जीवन समर्पण गर्ने योद्धा जवानसहित अन्य तहका कर्मचारीहरुलाई पनि उपयुक्त अनुसारको तलव सेवासुविधा, आत्मसम्मान हुने वातावरण र अन्य अवसर दिनुपर्छ । यसका लागि समय, परिवेश अनुसार ऐन कानुनहरु बदलिएर सेनाको पेशालाई आर्कषण, मर्यादित, स्वाभिमान र गौरबशाली बनाउनुपर्छ ।

हुनत सेनाले गर्ने आपतविपदमा सहयोग साथै नागरिकहरुको शिक्षा, स्वास्थ्य शिविर र अन्य सचेतना जगाउनका लागि समुदायमा गर्दे आएका गतिविधिले पनि सेना र नागरिक बीचको सम्बन्ध निकट बनाएको देखिन्छ । समाजको बिकाससँगै राष्ट्रको बिकास जोडिएको हुँदा यसका आयमहरुले सेनामा पनि असर परेको हुन्छ । फौजी पेशा कमाण्डरको आदेसमा चल्नुपर्ने सेनाको आफ्नो स्वतन्त्रता मानवअधिकारको कुरा नहुने र तल्लो तहका सैनिक कर्मचारीलाई हुकुमी व्यवहार र थिचोमिचो गर्ने पुरानो प्रबृतिको आन्तरिक शासन गर्ने शैली र व्यवहारले पछिल्लो चरणमा सेनाको पेशा नवयुवाहरुका लागि आर्कषण बन्न सकेको छैन । यसको उदाहरण बहाल रहेका सेनाहरु जागिर छोडेर गएका र कतिपय सेनाको मानसिक विचलन भई पेशा घरवार र जीवन बर्बाद भएका उदाहरणहरुबाट पनि सेनाले सजग भई पाठ सिक्नु जरुरी छ । एउटा सेनाको आफ्नो जीवन देशका लागि समर्पित हुने भएकाले सेनाभित्र एकै आमाका सन्तानसरह भाइचारा, आन्तरिक सहअस्तित्व र बन्धुत्वको विकास हुनु जरुरी छ । यसका साथै सेनामा रहेका उच्च ओहोदाका कर्मचारीहरुले राजनीति पक्षपोषण गर्दा पनि सेनाको संगठन बेलाबेलामा बिवादित हुने गरेको छ ।

कतिपय अवस्थामा सेनामा हुने भ्रष्टाचारले पनि सेनाको स्वाभिमानलाई गिरावट गरी नागरिकको विश्वास गुमाएको छ । सेनामा हुने खर्च विवरणको महालेखाले लेखापरीक्षण नगर्ने प्रावधानले पनि सेनामा भ्रष्टाचार बढी मौलाएको सुनिन्छ । सैनिक संगठन संवेदनशील हो, यसो भन्दैमा राज्यकोषबाट सेनामा भएको लागानी खर्च विवरणमाथि राज्यको नियगमन नहुनु भनेको निरङ्कुशजस्तै हो । त्यसैले सेनामा भएका कतिपय यस्ता अलोकतान्त्रिक विधी र पद्धतीलाई सुधार गरी नेपाल सरकारले सेनालाई आफ्नो मातहतमा ल्याउनुपर्ने देखिन्छ । साथै सेनाले आफ्नो व्यारेक, गण, बाहिनीभित्र सिनियर व्यक्तिले दुख कष्ट गरे पनि सहनुपर्ने अपमान र दुर्व्यवहार साथै सेवासुविधाबाट बञ्चित भए पनि कतै भन्न बोल्न नहुने अहिलेको अवस्थाबाट सेना फराकिलो हुनु जरुरी छ । हो सेना अनुशासित, जिम्मेवारी, कर्तव्यपालक आदेशमा चल्नु चलाउनुपर्ने फौजी जंड्गी संगठन हो । यसो भन्दैमा आत्मसम्मानमा ठेस पुग्ने गरी लालाशालाको पेट भोको हुने गरी सेनाले आत्मखुशी गरेर काम नगर्न सक्छ यो चुनौती हो ।

एकातिर स्वाभिमान र अर्कोतिर बितृष्णा हुँदै गएको यो पेशा हेर्दा सेनाको संगठनभित्र के कस्तो अवस्था छ जवानप्रतिको माया सद्भाव माथिल्लो पोष्टका कर्मचारीहरुले कस्तो गर्छन् भन्ने कुराको चित्रण गर्दछ । यस्ता कुराहरु बाहिर समाजले पनि अध्ययन अनुसन्धान गर्ने बुझ्ने हुँदा सेना अब नागरिक समाजका लागि आकर्षण बन्नुपर्छ । किनभने भर्ना हुने जवानहरु अब शिक्षित हुने खाने परिवार र पढेलेखेका सचेत युवाहरु सेनामा भर्ना हुँदैनन् । अब कक्षा आठ पास गरेको सामान्य लेखपढ टाठोबाठो नभए पनि हुने मानसिकबाट सेनामाथि उठ्न जरुरी छ । हो ! सेनाले युद्धकला गर्दाका साथै युद्ध मोर्चामा जाँदा कुनै हिचकिचावट संकुचित मान्नुहुँदैन । युद्ध मोर्चामा कोही सेना पछि हट्छ भने त्यो खास सेना हुन पनि सक्दैन । तर अन्य समयमा सेनाहरुले संगठनबाट पाउने माया, सद्भाव, भातृत्व, बन्धुत्वले पेशाप्रतिको रुची झन् बढ्दै जान्छ । यसो हुँदा उनीहरुमा उच्च मनोबलका साथ काम गर्ने हौसला मिल्छ । सेना खुशी हुँदा समाज घर परिवार खुशी हुन्छ, अनि लडाइको मैदानमा छोरा मृत्यु हुँदा पनि आमाबुवाले देशको लागि मर्यो भनेर शिर उच्च गर्ने आत्मबल मिल्छ ।

यदि कुनै पनि पेशा काममा आफ्नो अपमान हुन्छ हौसला मिल्दैन भने त्यो पेशामा काम गर्ने कुनै पनि मान्छेहरुको रुची हुँदैन । त्यसैले अवको सेनाले समाज व्यवस्था परिर्वतन अनुसार यो पेशा र संगठनलाई गौरवशाली र स्वाभिमान बनाउदै जानुपर्छ । सेनाको जनशक्तिको उद्गमथलो हाम्रै समाज भएकाले समाज कस्तो छ, कुन सेना कुन परिबेश र वातावरणबाट भर्ना हुँदै आएको हो भन्नेमा पनि सेनाको चरित्र निर्धारण हुन्छ । हुनत सेनाले आफ्नो सैनिक अभ्यास साथै प्रशिक्षण दिँदा राष्ट्र र राष्ट्रियता साथै युद्धकला सामाजिक कार्यसहित देश विकासमा कसरी योगदान गर्ने भन्ने बारेमा प्रशिक्षण गर्ला । तर समाजले छाप परेको व्यवहार शैली र भावना परिर्वतन गर्न गाह्रो हुन्छ । त्यसैले समाजमा रहेका विद्यमान सामाजिक कुरिती र विभेद हटाउन पनि सेनाको भूमीका हुनुपर्ने हुन्छ । सेना राष्ट्रको सुरक्षासँग जोडिएको हुँदा सरकारले पनि सेनाको उच्च तहको प्रशिक्षण स्वचालित हातहतियार र प्रविधिमा लड्नका लागि सेना तयार गर्नुपर्छ ।

हुनत पछिल्लो समय सेनाले नेपाल जनसेवा दल भनेर पनि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई राष्ट्र र राष्ट्रियताका सवालमा हाम्रो दायित्व, जीवन, जगत र अनुसाशन भई मर्यादित जीवन जिउने कला र सीप सिकाउँदै आएको छ । सेनाको यस कार्यले पनि विद्यार्थीमा राष्ट्रभक्ति भावनाको उत्प्रेरणा जगाएको छ । उनीहरुमा सकारात्मक भावनाको विकास भएर नराम्रा गतिविधिमा नलाग्न पाठ सिकाएको छ । भोली यिनै बालबालिका राज्यको सार्वजनिक पदधारण गर्ने र राम्रो नराम्रो कार्यमा सरिक हुने भएकाले यस्तो उमेरमा सेनावाट हुने यो प्रशिक्षणले असल नागरिक बन्न टेवा मिलेको छ । नेपाली सेना लोकतान्त्रीक र जनउत्तरदायी बन्दै जनतासँगको समन्वय सहकार्य सम्बन्धको दायरा फराकिलो बनाउँदै आएको छ । तर यसो भन्दैमा हाम्रो देशको सेनालाई सुरक्षा चुनौतीमा ढुक्क भने छैन ।

राजनीतिक व्यवस्थाको खिलापमा हाम्रो देशमा पनि विभिन्न पटक विभिन्न संगठनहरुले विद्रोह गर्दै आएका छन् । त्यो अहिले पनि केही शासन व्यवस्थामा असन्तुष्टी राख्ने पक्षहरु देखिँदै आएका छन् । राजनीतिक नेतृत्वको राष्ट्रभक्ति अठोट नहुनु सिमा सुरक्षाजस्ता विषयलाई सहि व्यवस्थापन गर्न नसक्नुले पनि नेपाली सेनालाई सुरक्षा चुनौती उतिकै छ । देशको यो अवस्थालाई हेर्दा नागरिकमा पनि चिन्ता र चासो बढ्दै गएको छ । सेनाले देश र जनताको सुरक्षा गर्ने हुँदा सेना अब्बल, सबल र सक्षम हुनु जरुरी छ । अरु देशका अगाडी देखिने शक्ति भनेको सैनिक शक्ति नै हो । त्यसैले सेना बोल्ने हैन उसको काम बोल्ने अवस्था सृजना गर्नुपर्ने हुन्छ सरकार र सम्बन्धित पक्षले । मुलुकको हित र विकासका लागि सेना नागरिकबीचको सम्बन्ध प्रगाढ हुनुपर्छ । जसले गर्दा जनताको भलोसहित देशको सुरक्षा, शान्ति र समृद्धि हुनसक्छ । (लेखक नेपाल पत्रकार महासंघ बझाङ्गका अध्यक्ष हुन् ।)

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार ०९:५१