सूचनाको शक्ति - The Power Of Information

        

समाचार

आदेश नआउँदा विप्लव समुहका नेता छुटेनन्

बझाङ । सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले नेत्रविक्रम चन्द विप्लव समूहका नेताहरुलाई रिहा गर्न सर्कुलर गरेको भए पनि विप्लवका नेता कार्यकर्ता छुटेका छैन । विप्लवका नेता कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको जिल्ला कारगार बझाङका प्रमुख धनबहादुर घर्तीले बताए ।

बझाङ कारागारमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका विप्लव समुहका जिल्ला कमिटी सदस्य सागर शाही (बाजिलाल), जिल्ला कमिटी सदस्य जोगबहादुर कठायत, जिल्ला कमिटी सदस्य राजेस थापा, साधारण सदस्य लक्ष्मण सिंह र जिल्ला कमिटी सदस्य देवदत्त अवस्थी गरी जम्मा पाँच जना जिल्ला कारागार बझाङमा रहेको कारागार प्रमुख घर्तीले जानकारी दिए ।

चन्द नेतृत्वको नेकपा र नेपाल सरकारबीच वार्ता सफल भएपछि नेकपाका कार्यकर्ता छाड्न गृहले परिपत्र गरेको थियो । विप्लवका जिल्ला कमिटी सदस्य शाहीलाई २०७६ चैत २ गते बझाङको थलारा गाउँपालिकाबाट पक्राउ परेका थिए भने कठायतलाई २०७७ मंसिर २७ गते धनगडीबाट, थापा २०७७ असोज ६ गते, सिंहलाई २०७६ पुस ८ गते बुंगल नगरपालिकाबाट र अवस्थी २०७६ असोज २४ गते प्रकाउ परेका थिए ।

जिल्ला अदालत बझाङले ३ जनालाई चन्दा असुली, हातहतियार खरखजना, राजद्रोह गरी पाँच वटा मुद्दा लगाइएको थियो भने थापालाई थप दुई बहुविवाह, चोरी मुद्दासमेत लागेको छ । सिंहलाई पनि ज्यान उद्योग मुद्दा लागेको समेत कारागार प्रमुख घर्तीले जानकारी दिए ।

साथै शाहीलाई पुर्पक्षका लागि २०७७ बैसाख ३१ गते, थापालाई पुर्पक्षका लागि २०७७ असोज ७ गते, अवस्थीलाई पुर्पक्षका लागि २०७७ कार्तिक २१ गते, सिंहलाई पुर्पक्षका लागि २०७७ पुस २ गते र कठायतलाई १ लाख रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि जिल्ला अदालत बझाङले कठायतलाइ २०७७ पुस २ गते कारागार चलान गरेको हो ।

त्यस्तै केहि महिनाअघि नै छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ का प्रविन्द्र धामी भने कारागारको आइसोलेसन कक्षाबाटै भागेका थिए । यता सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले भने जिल्ला कारागार बझाङमा विप्लव समुहका पाँच जना नेता कार्यकर्ता रहेको र उनीहरुको मुद्दा जिल्ला प्रशासन कार्यलयमा नभएकाले केहि समय लाग्न सक्ने बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार ०८:३८