सूचनाको शक्ति - The Power Of Information

        

खानेतेलको मूल्यमा उद्योगीको मनपरी

काठमाडौं । एक महिनाअघि अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै खाने तेल उद्योगीले अस्वाभाविक मूल्यवृद्धि गरे ।

मूलयवृद्धिको सर्वत्र आलोचना भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रज्ञापनपत्र मगाएर अनुसन्धान थाल्यो ।

प्रज्ञापनपत्र विश्लेषणका क्रममा अन्तराष्ट्रिय बजारमा मूल्य बढेको र केही प्रज्ञापनपत्रमा मूल्य घटे पनि यहाँ घटाइएको देखिएन ।

लागत मूल्य र एमआरपीबीचमै धेरै फरक देखिएपछि विभागले अन्नपूर्ण भेजिटेबल प्रालि र महालक्ष्मी सल्भेट एन्ड रिफाइनरीलाई जरिवाना गरे पनि अन्यलाई मूल्य घटाउन मात्र्र निर्देशन दिइयो ।

खानेतेलको मूल्य केहीसमयसम्म घटाएजस्तो गरेका उद्योगीहरुले पछिल्लो समय फेरि बढाएका छन् ।

पछिल्लो समयका राजनीतिक घटनाक्रमसँगैं मूल्य बढाउने गिरोह पुनः सक्रिय भएको बुझिएको छ ।

मिल उद्योग र आयातकर्ताको मिलेमत्तोमा पुनः मूल्य बढाइएको खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधरको दावी छ ।

वाणिज्य विभाग देखाउने दाँत मात्रै भएकाले समस्या समाधान हुन नसकेको उनको आरोप छ ।

‘विभागले उद्योगीसँग कागजात मागेपछि घटाएजस्तो गरेका मात्रै हुन् । वास्तवमा मूल्य घटाएकै छैनन् । कम्पनीहरुले लिटरमै २०/३० रुपैयाँ बढाए खुद्राले ५ रुपैयाँ बढाउने हो’ उनले भने, ‘सबै माथिबाटै चलखेल भइरहेको छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार ०७:५६