सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली नदीमा चार जनाको शव भेटियो, एकजना अझै बेपत्ता

शव भेटिएको ठाउँमा जम्मा भएका स्थानीय ।

बाँके । कर्णाली नदीमा बेपत्ता भएका एकै परिवारका पाँच जनामध्ये चार जनाको शव भेटिएको छ । एकजनाको अझै भेटिएको छैन । तीन छोरी र एक छोरासहित कर्णालीमा बेपत्ता भएकी दैलेख आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनका छोरा १० वर्षीया ललितको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिए ।

आमाछोराको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा आज (मंगलबार) दिउँसो १२ बजेतिर फेला परेको हो । १६ वर्षीया छोरी कल्पना र १२ वर्षीया छोरी सरिता बडुवालको शव सोमबार नै फेला परेको थियो ।प्रहरीका अनुसार आमा, दुई छोरी र एक छोराको शव भेटिएको स्थान नजिकै छ । ५ वर्षीया छोरी रजनी बडुवालको अवस्था भने अझै अज्ञात छ । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा दैलेख र अछामको प्रहरी र गोताखोरको टोली खटिएको छ । स्थानीयका अनुसार सोमबार दिउँसो ४ बजेको समयमा सुकी छोराछोरीसहित निस्किएकी थिइन् । तर साँझ अबेरसम्म घर नआएपछि खोजी गर्दा सोमबार नै दुई छोरीको कर्णालीमा शव फेला परेको थियो । मृतक सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिनहुँ मदिरा सेवन गरेर श्रीमतीसँग झगडा गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थालेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलवार १५:००