सूचनाको शक्ति - The Power Of Information

        

फेरियो राजनीति

अलग भए एमाले र माओवादी

काठमाडौं । सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मान्यता नदिएपछि नेकपा (प्रचण्ड–नेपाल) समूहको स्थायी कमिटीको बैठकले पूर्वनेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग भएर जाने निर्णय गरेको छ ।

पेरिसडाँडामा सोमबार बसेको बैठकले अदालतको आदेशअनुसार साबिककै पार्टीमा रहने निर्णय गरेको पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्ने क्रममा उनले भने, ‘सर्वाेच्च अदालतको फैसला मानेर अलग–अलग भएर जाने निर्णय गरेका छौँ ।’

खनालले सर्वाेच्च अदालतले राजनीतिक फैसला गरे पनि साबिकको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) फरक–फरक भएर जाने निर्णय गरेको स्पष्ट पारे । सर्वाेच्च अदालतको फैसलाले गम्भीर नकारात्मक असर पारे पनि अदालतको निर्णय मान्दै एमाले र माओवादी केन्द्र भएको सोही दलमा रहेर सङ्घर्ष गर्ने नेता खनालको भनाइ छ ।

उनले सर्वाेच्च अदालतको निर्णयमा पुनरवलोकनको माग गरिनेसमेत बताए । बैठकपछि बोल्दै प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टी अलग भए पनि प्रचण्ड र आफ्नो मन भने विशाल रहेको प्रतिक्रिया दिनुभयो । नेपालले पार्टी अलग भए पनि हाम्रो मन विशाल भएको र अनौपचारिक छलफल भइराख्ने बताए ।

उनले अदालतको फैसलालाई सम्मान गर्ने बताए । पार्टी एकता सम्भव नभएकाले आफैँले निर्माण गरेको पार्टी नेकपा (एमाले)लाई अझै सशक्त बनाउने प्रयासमा आफू क्रियाशील रहने उनले बताए । एमालेको सङ्गठन तथा जनाधारसँग आफ्नो नङ र मासुको जस्तै सम्बन्ध रहेकाले अब नयाँ शिराबाट अगाडि बढ्ने उनले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलवार ०८:५१