सूचनाको शक्ति - The Power Of Information

        

धारिलो हतियार प्रहार गरी युवकको हत्या

बारा । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो । उनी पेन्टरको काम गर्दथे । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुर झिकाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनास्थलमा रहेका डिएसपी गौतम मिश्रका अनुसार रौतहट चन्द्रनिगाहपुर घर भएका उनी निजगढ नगरपालिकामा पनि रहेको आफ्नै घरमा बस्दै आएका थिए । दुई तले घरको तल्लो तलामा खाजा पसल छ ।

माथिल्लो तलामा उनी एक्लै बस्दै आएका थिए । मंगलबार बिहान खाजा पसल खोलेकाहरुले माथिल्लो तलामा हल्लाखल्ला सुनेको र कोही व्यक्ति भर्याङबाट ओर्लिएर बाइक स्टार्ट गरेर भागेको देखेको बताएका छन् । सो सूचनापछि घटनास्थलमा पुगेको प्रहरीले माथिल्लो तल्लामा रोहितको मृत शरीर फेला पारेको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलवार ०८:३४