सूचनाको शक्ति - The Power Of Information

        

समाचार

नरैनापुरको सुइँयामा भिषण आगलागी, २५ घर जलेर नष्ट

आगलागीबाट भएको क्षतीको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको छ ।

बाँके । बाँकेको नरैनापुरमा आज बिहान भिषण आगलागी भएको छ । नरेनापुर गाउँपालिका–१, सुइँयामा आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन् । आगलागी एक घण्टामै नियन्त्रणमा आएको थियो । बिहान ११ बजेबाट सुरु भएको आगलागी १२ बजेमात्रै नियन्त्रणमा आएको थियो ।

स्थानीय मनिजर पासीको फुसले छाएको कच्ची घरबाट आगलागी सुरु भएर २५ वटा घर पूर्ण रुपमा नष्ट भएका हुन् । घरमा बच्चाहरु मात्रै भएको समयमा अचानक आगलागी भएपछि स्थानीयले खबर गरेलगत्तै सुइँया प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरीको टोली परिचालन भएको थियो ।

आगालागीबाट मनिजर पासी, नाफे पासी, रंगै पासी, राम समुझ पासी, मनै साई, सहज राम पासी, मृतलाल पासी, सन्तोष पासी, बौरा पासी, मुन्के पासी र सिराज पासीको घर पूर्णरूपमा क्षति भएको छ । नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार आगलागीबाट करोडौंको जिन्सी तथा नगद क्षती भएको छ ।

आगलागी भएको स्थलमा पुगेका गाउँपालिकाका अध्यक्ष शाहले आगलागी पीडितहरुलाई तत्काल सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । अहिले नरैनापुर गाउँपालिका अन्तरगत विपद् व्यवस्थापन समितिको बैठक बसिरहेको छ । तत्काल प्रभावित क्षेत्रका नागरिकलाई राहत प्रदान गरिने गाउँपालिकाले जनाएको छ । आगलागीबाट भएको क्षतीको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार १५:१२