सूचनाको शक्ति - The Power Of Information

        

जिल्ला प्रशासन कार्यालय बाँके

सेवाग्राहीलाई ‘एसी’, कर्मचारीलाई पङ्खा

एक जना सेवाग्राहीले भने ‘अहिले बसाई पनि सहज छ, काम पनि छिट्टै भइरहेको छ । विगतमा निकै समस्या हुन्थ्यो, आजभोली जिल्ला प्रशासन कार्यालय धेरै नागरिकमैत्री भएको छ ।’

बाँके । मङ्सीर महिनामा नेपालगन्जमा उद्युम चिसो थियो । सर्वसाधारणलाई निस्कनै समस्या हुन्थ्यो । चिसोयाममा नेपालगन्जमा अत्याधिक चिसो बढे पनि सरकारी कार्यालयमा सेवाग्राहीको चाप थेगिनसक्नु हुन्थ्यो । अझ जिल्ला प्रशासन कार्यालय बाँकेमा नागरिकको भीड अरु कार्यालयभन्दा बढी नै देखिन्थ्यो ।

नागरिकता, राहादानी लगायतका सेवा लिनका लागि नागरिकहरु चिसोमा कठ्याग्रिँदै लाइनमा बसिरहेका हुन्थे । यस्तो दृष्य देखेपछि प्रमूख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग र सहायक प्रमूख जिल्ला अधिकारी हरि प्याकुरेलबीच सेवाग्राहीका लागि ‘एसीसहितको सेवाग्राही कक्ष’ बनाउने विषयमा छलफल भयो ।

‘एसीसहितको सेवाग्राही कक्ष’ बनाउन धेरै रकम लाग्ने अनुमान गरियो । कार्यालयमा ‘एसीसहितको सेवाग्राही कक्ष’ बनाउन छुट्टै बजेट थिएन । न त केन्द्रमा माग गरेर नै बजेट व्यवस्था हुन सक्ने अवस्था थियो । प्रमूख जिल्ला अधिकारी र सहायक प्रमूख जिल्ला अधिकारीबीच भएको पटक–पटकको छलफल अन्ततः एउटा निष्कर्षमा पुग्यो ।

‘हामीले स्थानीय तहसँग रकम माग गरेर ‘एसीसहितको सेवाग्राही कक्ष’ बनाउने निष्कर्ष निकाल्यौं,’ प्रमूख जिल्ला अधिकारी कुरुम्बाङ्ग भने, ‘एसीसहितको सेवाग्राही कक्ष’ निर्माण भएपछि सेवा लिन आउने नागरिकलाई ठूलो राहत भएको छ ।’ नेपालगन्जमा चाडोमा अत्यन्तै जाडो र गर्मीमा अत्यन्तै गर्मी हुन्छ ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले सेवाग्राहीमैत्री कार्यालय बनाउँदै जाने क्रममा ‘एसीसहितको सेवाग्राही कक्ष’ निर्माण गरिएको बताए । उक्त ‘सेवाग्राही कक्ष’को २०७७ मङ्सीर २४ गते नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशमशेर राणाले उद्घाटन गरेपछि अहिले व्यवस्थितरुपमा सञ्चालन भइरहेको छ ।

अहिले फागुन महिनाको तेस्रो साता चलिरहेको छ । बाँकेमा गर्मी पनि एकाएक बढ्दै गएको छ । गर्मी बढ्न थालेसँगै ‘एसीसहितको सेवाग्राही कक्ष’को प्रभावकारी सदुपयोग भइरहेको छ । गर्मीमा एसीमा बसेर सहजै सेवा सुविधा लिन पाएकोमा सेवाग्राही कक्षमा बसिरहेका सेवाग्राही मख्ख पर्ने गरेका छन् ।

‘पहिले गर्मीमा छहारी खोज्न जानुपर्ने अवस्था थियो, अहिले यसरी एसपीमा बस्न पाइएको छ,’ नागरिकता बनाउन पुगेका एक जना सेवाग्राहीले भने ‘अहिले बसाई पनि सहज छ, काम पनि छिट्टै भइरहेको छ । विगतमा निकै समस्या हुन्थ्यो, आजभोली जिल्ला प्रशासन कार्यालय धेरै नागरिकमैत्री भएको छ ।’

‘एसीसहितको सेवाग्राही कक्ष’सँगै बाहिरको पार्कमा समेत सेवाग्राहीहरू छहारीमा बसेर पालो कुरिरहेका थिए । ‘टोकन प्रणाली भएकोले पालो कुरेकी छु,’ सेवाग्राही रमेश ठकुरीले भने, ‘टोकन प्रणालीभन्दा भन्दा पनि गर्मीमा यसरी छहारीमा बस्न मिल्ने वातावरणले खुसी छौं । पालो विस्तारै त आउँला ।’

जिल्ला प्रशासन कार्यालयले नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडाबाट सहयोग लिएर सुविधायुक्त ‘एसीसहितको सेवाग्राही कक्ष’ सञ्चालनमा ल्याएको थियो । ३६ लाख रुपैयाँको लागतमा प्रशासनले सेवाग्राही कक्ष सञ्चालन गरेपछि सेवा लिनका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका सेवाग्राही एसीमा बसेर सेवा लिइरहेका छन् ।

प्रमूख जिल्ला अधिकारी र सहायक प्रमूख जिल्ला अधिकारीको प्रयास तथा निगरानीमा लुम्बिनी प्रदेशमा रहेका जिल्ला प्रशासन कार्यालयमध्ये पहिलो पटक बाँकेले सेवाग्राहीका लागि यस्तो सुविधासहितको सेवा अघि बढाएको थियो । जिल्ला प्रशासन कार्यालयमा नागरिकको सेवामा खटिएका कर्मचारी भने पङ्खा बसेर काम गर्दै आएका छन् ।

पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालय नागरिकमैत्री बनेको छ । हरेक सरकारी कार्यालयमा कार्यालय प्रमुखदेखि सहयोगीसम्म सबैको बस्ने ठाउँ हुने तर सेवाग्राहीका लागि बस्ने ठाउँ नहुने समस्या देखिएपछि सेवाग्राहीको सुविधाका लागि ‘एसीसहितको सेवाग्राही कक्ष’ निर्माण गरिएको कुरूम्वाङ्गले बताए ।

सरकारी संरचना र व्यवहारहरु सेवाग्राहीमैत्री नभएको भन्दै शासन प्रक्रिया जनमैत्री र जनउत्तरदायी बनाउन नागरिकको सहजताका लागि ‘एसीसहितको सेवाग्राही कक्ष’ निर्माण गरी सञ्चालनमा ल्याइएको उनी बताउँछन् । ‘एसीसहितको सेवाग्राही कक्ष’मा पिउने पानीसहितको १०० जना अट्ने क्षमता रहेको प्रशासनले जनाएको छ ।

खासगरी नागरिकता, राहदानी वितरण लगायतका सेवा प्रवाह गर्दा भीडभाड हुने गरेकोमा अहिले ‘एसीसहितको सेवाग्राही कक्ष’ र टोकन प्रणालीको व्यवस्थापनले काममा धेरै सहजता आएको आएको प्रशासनका कर्मचारी बताउँछन् । सेवाग्राहीको सुविधाका लागि बाँके प्रशासनमा टोकन प्रणाली पनि सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार १४:२९