सूचनाको शक्ति - The Power Of Information

        

म्यान्चेस्टर युनाईटेडद्वारा म्यान्चेस्टर सिटी पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ ।

यो हारसँगै म्यान सिटीको २१ खेल लामो जितको श्रृंखला पनि टुटेको छ । गएराति म्यान सिटीलाई उसैको मैदानमा हराउन म्यान्चेस्टर युनाईटेडका ब्रुनो फर्नान्डेज र लुक शअले एक एक गोल गरे ।

जितसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले शिर्ष स्थानको म्यान्चेस्टर सिटीसँगको दुरी ११ अंकमा सिमित गरेको छ ।

म्यान्चेस्टर सिटीको २८ खेलबाट ६५ अंक छ भने म्यान्चेस्टर युनाईटेडको ५४ अंक छ ।
प्रिमियर लिगकै अर्को खेलमा लिभरपुललाई फुल्हमले १–० ले हराएको छ ।

लिभरपुललाई उसैको मैदानमा पराजित गर्न फुल्हमका मारियो लेमिनाले निर्णायक गोल गरे । पछिल्लो समय निकै खराब लयबाट गुज्रिरहेको लिभरपुलको यो हार आफ्नै मैदान एन्फील्डमा लगातार छैटौं हार हो ।

प्रिमियर लिगकै अन्य खेलहरुमा टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेसलाई ४–१ ले हराउँदा वेष्ट ब्रोम र न्युकासल युनाईटेडले गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार ०७:२२