सूचनाको शक्ति - The Power Of Information

        

शवको गन्ध आयो भन्ने लालबहादुर नै युवती हत्याका अभियूक्त

गुल्मी । गुल्मीको भाडगाउँमा २१ वर्षीय युवती हत्याका अभियूक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्लाको रेसुंगा नगरपालिका–३ भाडगाउँमा २१ वर्षीया सम्झना बोहराको हत्याको आरोपमा ४७ वर्षीय लालबहादुर खत्रीलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

सम्झनालाई लालबहादुरले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । हत्या किन र कसरी गरेको भन्ने कारण नखुलेको पाण्डेले बताए । सम्झना गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी थिइन् । लालबहादुरले २९ गते नै हत्या गरेको हुनसक्ने प्रहरी अनुमान छ ।

प्रहरीका अनुसार बेपत्ता भएकी युवतीको खोजतलास गर्दा अभियुक्त लालबहादुरको सक्रियता बढेको देखेर उनीमाथि अनुसन्धान केन्द्रित गरिएको थियो । ‘लालबहादुरले नै शवको गन्ध आएको भनेर स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थिए,’ पाण्डेले भने, ‘उनैलाई शंकाको घेरामा राखेर अनुसन्धान गर्दा हत्या स्वीकार गरेका छन् ।’

अभियुक्तलाई जिल्ला अदालत गुल्मीबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता भएको १८ दिनपछि फागुन १७ गते सम्झनाको शव घर नजिकैको झाडीमा टाउको बोरामा र बाँकी भाग स्याउला र ढुंगाले ढाकेको अवस्थामा फेला परेको थियो । सम्झना बेपत्ता भएको दुई दिनपछि सासु तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फागुन २ गते फेला परेकी थिइन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार ०५:३६