सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय सरकारको बेतिथि

कोहलपुरमा वडाध्यक्षदेखि मेयरसम्मको ब्रम्हलुट, अर्थहीन योजनामा बजेट खर्च

चौराहको बाघरुपी बिरालो हेर्न गोलपार्कमा भ्युटावर

बाँके । विकासका निहुँमा ब्रम्हलुट गर्दै आएको कोहलपुर नगरपालिका र यहाँका मेयर लुटबहादुर रावतसहितका जनप्रतिनिधिले अर्थहीन योजनामा करोडौं रकम खर्च गरिरहेका छन् । खास आवश्यकता र जनताको मागलाई बेवास्ता गर्दै मेयर लुटबहादुर रावतको मनखुशी र केही जनप्रतिनिधिको कमाउधन्दाका कारण यसरी अर्थहीन योजनामा बजेट खर्च भैरहेको हो ।

तीब्र शहरीकरणसँगै मानव चहलपहल हवात्तै बढेको कोहलपुरमा यतिबेला सडक वारपार गर्नसमेत कठिनाई देखिएको छ । आमनागरिकको माग र चाहना शहरका केही महत्वपूर्ण मागमा आकाशे पुल गरिनुपर्ने थियो । प्रसुतिगृह निर्माण गरिनुपर्ने थियो । सडकबाटो मर्मत तथा सुधार र कालोपत्रे गरिनुपर्ने थियो । खानेपानी र शक्षिामा पहुँच बढाउने योजना ल्याउनुपर्ने थियो । तर, नगरपालिकाका मेयरको रबैया उपमेयरसहितको मौनताले गोलपार्कमा ९ करोड लागतमा अर्थहीन र वेकामे घण्टाघर तथा भ्यु टावर निर्माण गरिँदैछ ।

यो योजना कोहलपुरका लागि कुनै पनि हालतमा उपयुक्त होइन । कोहलपुरको गोलपार्कमा बनाइने भ्यु टावरबाट कहाँ, के कसरी अवलोकन गर्ने यसको अध्ययन समेत नगरपालिकासँग छैन । १० तलाको विद्युतीय लिफ्टसहितको भ्यू टावरको निर्माण कोहलपुरमा जरूरी नै नभएको स्थानीय कोहलपुरबासी नै बताउँछन् । कोहलपुर नगरपालिका र कोहलपुर नगर बिकास समितिको संयुक्त लगानीमा दुई वर्षमा पुरा गर्ने गरी उक्त अर्थहीन तथा वेकामे योजना थालनी गरिएको कोहलपुरका स्थानीय भुम भण्डारी बताउँछन् ।

नगर विकास समिति र नगरपालिकाका प्रमुख दुबै पदमा मेयर नै भएकोले उनले आफुखुशी निर्णय गराई रकम विनियोजनमा समेत दादागिरी मच्चाएको जनप्रतिनिधि नै बताउँदै आएका छन् । लिफ्टबाट तलमाथि गर्नकै लागि र चौराहमा बाघरुपी बिरालो हेर्नका लागि उक्त भ्यु टावर बनाउनुले यसमा मेयर रावतसहित केही जनप्रतिनिधिको यो योजना कमाउधन्दा बनिरहेको प्रष्ट देखिएको छ ।

भ्यु टावर निर्माणको जिम्मेवारी लिएको जय भवानी निर्माण सेवाका सञ्चालक अर्जुन पनेरू नै समेत गोलपार्कमा यो योजना उपयुक्त नभएको बताउँछन् । उनले भने ‘यसरी घण्टाघर बनाउनुुभन्दा खालीचौर नै ठिक थियो । किनकी कम्तीमा स्थानीयले खुलाचौरमा स्वच्छ हावा लिन र पार्कका रूपमा विस्तार गरी आम्दानी बढाउन सक्ने थिए । यो भ्यु टावरमा शुरुवाती चरणमा केही मानिस आए पनि यसको दीर्घकालिन लक्ष्य हासिल सम्भावना कम देखिएको छ ।’

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार १८:५९