सूचनाको शक्ति - The Power Of Information

        

आइतबारदेखि सुरु हुने खोप अभियान २० दिनसम्म चल्ने

काठमाडौं ।  आउँदो आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान २० दिनसम्म सञ्चालन हुने भएको छ ।

पहिलो १० दिनमा ६५ वर्षभन्दा माथिका र त्यसपछिका १० दिनमा ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख डोज ‘कोभिशिल्ड’ पहिलो चरणको अभियानअन्तर्गत गएको माघ १४ गतेदेखि सञ्चालन गरेर सम्पन्न भएको थियो  ।

पहिलो चरणमा नेपालको कूल जनसङ्ख्याको १ दशमलव ४ प्रतिशतलाई प्रदान गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र सरकारी कर्मचारीलगायत चार लाख २९ हजार ७०५ जनाले खोप लगाएका थिए ।

हिजो प्रतिनिधिसभाका सांसद र संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुले खोप लगाएका थिए । दोस्रो चरणको खोप पनि ‘कोभिशिल्ड’ नै प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार ०८:४२