सूचनाको शक्ति - The Power Of Information

        

पुग्ला त निष्कर्षमा !

सरकार र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच आज पनि वार्ता हुँदै

हिजो तीन पटक भएको वार्ता सकारात्मक

काठमाडौं । नेपाल सरकार र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच आज पनि वार्ता हुँदैछ ।

हिजो तीन पटक भएको वार्ता सकारात्मक रहेकोले आज पनि वार्ता हुन लागेको हो । हिजोको अन्तिम वार्ता पुल्चोकस्थित गृहमन्त्री आवासमा भएको थियो ।

यसअघि दुई पटकको वार्ता प्रधानमन्त्री निवास वालुवाटारमा भएको थियो । हिजोको वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको दाबी सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले गर्नुभयो ।

वार्तामा सरकारी टोलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समुहको तर्फबाट खड्गबहादुर विश्वकर्माले नेतृत्व गरिरहनुभएको छ ।

वार्तामा सरकारी टोलीले विप्लव समुहलाई सम्पूर्ण रुपले हिंसा त्यागेको प्रतिबद्धता जनाउँदै आफुसँग भएको हतियार बुझाउन आग्रह गरेको छ ।

विप्लव समुहले भने आफुसँग कुनै प्रकारको हतियार नभएको दावी गरेको छ । यसैगरी विप्लव समुहले आफुमाथिको प्रतिबन्ध हटाएर जेलमा रहेको नेता कार्यकर्ता रिहा गर्नुपर्ने शर्त अघि सारेको छ ।

सकेसम्म वार्तालाई आजै निष्कर्षमा पु¥याउने तयारी दुबै पक्षले गरेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार ०८:१२