हुन त विगतमा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको गठन दलीय मानसिकता, विभिन्न मुल्यमान्यता र बाचा बन्धनबाट माथि उठेर नीतान्त मुस्लिम समुदायको हकहित संरक्षण सम्वर्धन गर्न गराउन गठन गरियो । हाम्रो मुस्लिम संघर्ष गठबन्धन बिगतमा ढिलासुस्ती, अल्छी, निस्कृय र गैरजिम्मेवार देखियो ।
यस गठबन्धनका सदस्यहरुमध्ये नै कतिले यहींबाट आफ्नो राजनीतिक कैरियरको सुरुआत गरे । कतिपयले गठबन्धनमार्फत नै नीजि स्वार्थ पुरा गरे भने कतिले त दलीय र पदीय मोहमा समुदायका कतिपय जल्दाबल्दा मुद्दाहरु विसर्जन पनि गर्न पछि परेनन् । अन्तमा व्यक्ति व्यक्तिबीच पदीय र स्वार्थका कुरा नमिल्दा समुदाय र समुदायका मुद्दाहरुलाई नजरअन्दाज गरियो । जसको फलस्वरूप केही समयपछि गठबन्धन निस्कृय भयो अन्तमा मृत भएर बिलायो ।
मलाई थाहा छ, मेरो यो पोष्टले धेरैको मुख र मन रातो पहेंलो हरियो कालो नीलो हुनेछ तथापि मेरो नैतिकताले लेख्न विवश बनायो र लेखें । आशा छ, मेरो भनाईलाई सकारात्मक लिएर आउने दिनमा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनलाई नयाँ नेतृत्वमा पुनः जागृत गरी समुदायका हकहितका लागि सकृयता साथ लाग्न र लगाउन निरन्तर प्रयास गर्नुहुनेछ । स्मरण रहोस्, जहाँ जुन पद जुन ठाउँमा तपाई अहिले हुनुहुन्छ त्यहाँ तपाईहरु समुदायको नेतृत्व गर्न पुग्नुभएछ चाकडी गर्नलाई होइन् ।
यसकारण मेरो आग्रह यतिमात्र छ, अब मुस्लिम संघर्ष गठबन्धनलाई पुनर्जिवित गरी जसले विगतमा नीजि स्वार्थ र पदीय प्रलोभनमा परेर मुद्दालाई विसर्जित गरे तिनलाई पहिचान गरी तिनका ठाउँमा समुदायका शुभचिन्तक, इमानदार, लगनशील र सकृय व्यक्तिहरुको छनौट गरी जो जहाँ हुनुहुन्छ त्यहींबाट समुदायका मुद्दा सम्बोधन गर्न गराउन निरन्तर सकृय पहल र प्रयास गर्नुहोस् ।
।