सूचनाको शक्ति - The Power Of Information

        

जमुनाह नाका

भारतीय पक्षद्वारा रुपैडिहा नाकामा कडाइ, आवागमनमा समस्या

बाँके । बाँकेको नेपालगन्जस्थित नेपाल–भारत नाका जमुनाहमा भारतीय पक्षले सोमबारदेखि आवागमनमा कडाइ गरेपछि दुवै देशका नागरिकलाई समस्या भएको छ । केही समययता सहज बनेको यो नाकामा भारतीय सुरक्षा निकाय (एसएसबी)ले कडाइ गर्दै लामो सोधपुछपछि मात्र आवातजावत गर्न दिन थालेको छ ।

यस्तो व्यवहारले नाकामा आवागमनमा निकै कठिनाइ भइरहेको दुवै देशका नागरिकको गुनासो छ । आइतबारसम्म सो नाकाबाट साइकल र रिक्साको निर्बाध आवातजावत भइरहेकामा सोमबारदेखि भने त्यसमा प्रतिबन्ध लगाउँदै निकै सोधपुछपछि मात्र पैदल आवागमन गर्न दिएको छ । एसएसबीको यस्तो व्यवहारले निकै समस्या भएको लखनउबाट फर्किएका नेपालगन्ज–११, इदगाहरोडका राकेश कहारले बताए ।

उनले भने, ‘आइतबार सहज रूपमा भारत पसे पनि सोमबार फर्कंदा धेरै झन्झट बेहोर्नुपर्यो ।’ उनीजस्तै भारतबाट फर्किएका धेरै नेपालीले यस्तो गुनासो गरेका छन् । जमुनाह प्रहरी कार्यालयका प्रमुख, सई विष्णु गिरीले आइतबार एसएसबीका उच्च अधिकारीले नाकाको अनुगमन गर्दा नाका सहज भएको देखेर कडाइ गर्न निर्देशन दिएर गएकाले भारतीय सुरक्षाकर्मीले कडाइ गरेको बताए ।

उनले भारतीय पक्षले रिक्सा, साइकल लगायत कुनै पनि सवारीसाधनलाई आवागमन गर्न नदिई सोधपुछ र परिचयपत्र हेरेर पैदलमात्र आवतजावत गर्न दिएको बताए । रोजगारी लगायत विभिन्न अत्यावश्यक कामले नाकामा दैनिक आवागमन गर्नेले आवागमन सहज पार्न दुवै देशका सुरक्षा निकायसँग माग गरेका छन् । यसैबीच जनमत पार्टीका केन्द्रीय सदस्य इरफान अहमद शेषसहितको टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई ज्ञापनपत्र बुझाउँदै नाका सहज बनाउन माग गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलवार १३:३०