सूचनाको शक्ति - The Power Of Information

        

फेरिँदै दुर्गमका बस्ती

विकटमा धमाधम विकास, सुगम बन्दै राप्तीपारि

बाँके । राप्ती नदीपारिका क्षेत्रलाई केही समय पहिलेसम्म बाँके जिल्लाको सबैभन्दा पिछडिएको र अविकसित क्षेत्र मानिँदै आएको थियो तर सो क्षेत्रमा विकास निर्माणका विभिन्न काम हुँदै गएपछि अहिले सो क्षेत्रले क्रमशः कोल्टे फेर्दै गएको छ ।

बाँकेको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने राप्तीसोनारी र नरैनापुर गाउँपालिका क्षेत्रमा गत तीन वर्षको समयमा सडक, विद्युत्, पुल, तटबन्ध र सिँचाइलगायत स्वास्थ्य र शिक्षाका क्षेत्रमा धेरै काम गरिएकाले सो क्षेत्र पनि सुगम बन्दै गएको हो ।

सो क्षेत्रमा अहिले दिनरात विकास निर्माणका काम तीव्ररूपमा चलिरहेको जनाउँदै विस्तारै सुगममा परिणत भइरहेको क्षेत्र नम्बर १ का सङ्घीय सांसद महेश्वर गहतराज अथकले बताए । उनले यस क्षेत्रमा विद्युतीकरणदेखि, सिक्टा सिँचाइ आयोजना लगायत सडक र पुलहरूको धेरै काम भएको र अझै पनि विकास निर्माणका काम तीव्ररूपमा चलिरहेको बताए ।

सांसद अथकका अनुसार दिनरात प्रयास गरिएपछि ३० वर्षपछि नरैनापुर र राप्तीसोनारीका क्षेत्रमा कालोपत्रे सडक र विद्युत् पुगेको बताए । सोही प्रकारले अहिले सो क्षेत्रमा दुईवटा ठूला पुल निर्माण भइरहेको, हुलाकी सडकको काम पनि दिनरात भइरहेको र सिक्टा सिँचाइ आयोजनाको शाखा नहर निर्माण पनि तीव्ररूपमा भइरहेको बताए ।

यसैगरी स्वास्थ्य क्षेत्रमा दुईवटा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएका र विद्यालयका ६४ भन्दा बढी कोठालाई पक्की कोठामा परिणत गर्ने काम पनि भइरहेको बताए । यसैबीच बाँके क्षेत्र नम्बर १ का विभिन्न ठाउँमा निर्माण भइरहेका विभिन्न महत्वपूर्ण पुल, सडक, सिँचाइ र तटबन्ध लगायतका निर्माण कार्यको सांसद अथकले निरीक्षण र अनुगमन गरेका छन् ।

सो क्रममा उनले राप्तीसोनारी गाउँपालिकाको मोरङ्गा खोलामा निर्माण भइरहेको ठूलो पुल, राप्तीसोनारीको कचनापुर र मदुवाघाट–बिनौना जोड्ने राप्ती नदीमा निर्माण भइरहेको पुल र राप्तीपारिको फत्तेपुरबाट बिनौना हुँदै भुवरभवानी नजिकबाट निस्कने हुलाकी सडकको निरीक्षण गरे । उनले निर्माण कम्पनीका प्रतिनिधिलाई भेटेर कुनै पनि हालतमा कामलाई नरोक्न आग्रह गर्दै कुनै समस्या आएमा खबर गर्न आग्रह गरे ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलवार १२:४७