सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यमा सहजता

नरैनापुरमै २४ सैं घण्टा इमरजेन्सी सेवासँगै भिडियो एक्स–रे सुविधा

लक्षमणपुर प्राथमिक स्वास्थ्य केन्द्रले चैतदेखि सर्पदंशको उपचार पनि सुरु गर्ने भएको छ ।

बाँके । कुनै बेला रुघाखोकी र सामान्य ज्वरो आएको उपचार पनि भारतीय स्वास्थ्यकर्मी र अस्पतालमा भर पर्नुपर्ने थियो । नेपालगन्ज आउजाउ गर्न सहज नभएकोले नरैनापुरका सर्वसाधारण नेपालगन्जको अस्पतालसम्म आउन सक्दैनथे । नेपालगन्ज आउन युद्ध जितेजस्तै हुन्थ्यो ।

त्यसैले त त्यहाँका सर्वसाधारणलाई नेपालगन्जका अस्पतालमा उपचार गराउनुभन्दा भारतीय अस्पताल पुग्न सहज थियो, तर अहिले समय फेरिएको छ । नेपालगन्जका सर्वसाधारणलाई उपचारका लागि न त नेपालगन्ज आउनुपर्छ न त भारतीय अस्पताल धाउनुपर्ने बाध्यता छ । नरैनापुर गाउँपालिकाले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई सुविधा, सम्पन्न बनाएपछि त्यहाँका सर्वसाधारणले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन थालेका छन् ।

प्याथालोजी सेवासँगै इमरजेन्सी सेवा सञ्चालन गरेको प्राथमिक स्वास्थ्य केन्द्रले अहिले भिडियो एक्स–रे सेवा समेत सुरु गरेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनले साधारण एक्स–रे पनि तत्कालै सुरु गर्ने योजना रहेको बताए । ‘एक्स–रे सेवा सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई तालिम लिन पठाइएको छ । तालिम लिएर आउनासाथ एक्स–रे सेवा पनि सुरु गर्छौँ,’ उनले भने ।

विरामीको भिडियो एक्स–रे प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख मेडिकल अधिकृत डा.सागर पन्तले गर्दै आएका छन् । भिडियो एक्स–रे गर्ने दक्ष जनशक्ति नभएकोले आफैले गर्दै आएको उनले बताए । ‘गर्भवतीको भिडियो एक्स–रे म आफैले गर्छु,’ डा. पन्तले भने । सर्वसाधारणले २४ सै घण्टा इमरजेन्सी सेवा पाउन थालेपछि उपचारमा सहज भएको नरैनापुर गाउँपालिका–३, नरैनापुरका निजामुद्दिन खानले बताए ।

गाउँपालिकाले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैयाको अस्पतालसँगै इमरजेन्सी सेवा संचालनमा ल्याएपछि उपचार पाउन सहज भएको उनले बताए । उनले इमरजेन्सी सेवा सुरु भएपछि भारतीय अस्पतालमा जानुपर्ने बाध्यता हटेको बताए । ‘स्वास्थ्य केन्द्रमा २४ सै घण्टा चिकित्सक बस्न थालेपछि गुणस्तरीय स्वास्थ्य सेवा पाउने आशा जागेको छ ।’

लक्षमणपुर प्राथमिक स्वास्थ्य केन्द्रले चैतदेखि सर्पदंशको उपचार पनि सुरु गर्ने भएको छ । सर्पले डसेका विरामीलाई नेपालगन्ज ल्याउन समय लाग्ने र ढिला गरि उपचार पाउँदा मृत्यु हुने गरेपछि नरैनापुरमा सर्पदंशको उपचार सुरु गरिन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताए ।

उनले सर्पदंशका विरामीको उपचारका लागि जनशक्ति माग गरि छिट्टै उपचार सेवा सुरु गरिने स्पष्ट पारे । नरैनापुरका सर्वसाधारणलाई उपचारका लागि नेपालगन्ज आउन झण्डै साढे एक घण्टा लाग्ने गरेको छ । सर्पदंशका विरामीको सहजताका लागि लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा छुट्टै वार्ड खडा गरि उपचार गरिने उनको भनाई छ ।

नरैनापुर गाउँपालिकाले आँखा उपचार पनि छिट्टै सुरु गर्ने भएको छ । आँखा उपचारका लागि एक–एक जना नेत्र अधिकृत र नेत्र सहायक माग गरेको छ । माग गरे बमोजिम निवेदन दिएकाहरुको छिट्टै छनोट गरि सेवा सुरु गरिने उनको भनाई छ । ‘यहाँका सर्वसाधारणलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिकाले सवै खालको प्रयास गरेको छ,’ शाहीले भने ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलवार १०:३९