सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसमः कहाँ कस्तो रहला?

काठमाडौं । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली भए पनि मुलुकका बाँकी भू-भागहरूमा मंगलबार दिउँसोको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्। अहिले बिहान देशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको छ।

नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ। महाशाखाले सोमबारदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन सुरु भएको घोषणा गरेको थियो।

अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ। यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन तथा चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ।

विभागले मेघ गर्जन तथा चट्याङ, हावाहुरी र असिना पानीबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ।

जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय सुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन।

यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्दछ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलवार ०७:४४