सूचनाको शक्ति - The Power Of Information

        

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना भाइरसविरुद्धको खोप

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाउनु भएको छ।

मोदीले सोमबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा पुगेर कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाउनु भएको हो ।

मोदीले ट्वीट गर्दै आफूले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिनु भएको छ । उहाँले ट्विटरमा लेख्नुहुन्छ, ‘एम्समा कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लिएँ ।

हाम्रा चिकित्सक र वैज्ञानिकले कोभिड–१९ विरुद्धको वैश्विक लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको उल्लेखनीय छ ।’

आफूले खोप लगाएपछि मोदीले खोप लगाउन हुने सबैलाई खोप लगाउन आग्रह गर्नु भएको छ । ‘आऔँ सबै मिलेर भारतलाई कोभिड–१९ मुक्त बनाऔँ ।’

भारतमा सोमबारदेखि कोरोना भाइरस बिरुद्धको दोश्रो चरणको खोप अभियान सुरु भएको छ । ६० वर्षमाथिका नागरिक, गम्भीर बिरामी र ४५ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई कोरोना खोप लगाइँदैछ ।

पहिलो चरणमा सरकारी केन्द्रमा मात्र कोरोना खोप लगाइन्थ्यो । अब भने भारतमा निजी अस्पतालमा पनि कोरोना खोप उपलब्ध हुनेछ । त्यसका लागि नागरिकले आफै शुल्क तिनुपर्नेछ ।

भारतमा अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन भइरहेको छ । सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको खोप नेपालमा पनि ल्याइएको छ ।

सुरूमा भारतले १० लाख डोज खोप नेपाललाई अनुदानमा दिएको थियो भने केही दिनअघि सरकारले १० लाख डोज भ्याक्सिन किनेर ल्याएको छ भने बाँकी १० लाख डोज आउने प्रक्रियामा छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार १०:०९