सूचनाको शक्ति - The Power Of Information

        

बेलायतमा ओरालो लाग्दै कोरोना भाइरस, दुई करोडले लगाए खोप

लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण र मृतक संख्या निरन्तर ओरालो लाग्दै गएको तथ्यांकले देखाएको छ । पछिल्लो तथ्याँक अनुसार कोरोना संक्रमण दरमा करिब ४० प्रतिशतले  कमी आएको बताइएको छ ।

आइतबार थप ६ हजार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । दैनिक संक्रमित संख्या गत सेप्टेम्बर यताकै सबैभन्दा कम हो ।

थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४१ लाख ७६ हजार ५५४ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप १४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैनिक मृतक संख्या पनि धेरै पछिको सबैभन्दा न्यून हो ।

तर, सामान्यतया आइतबार र सोमबार सार्वजनिक गरिने तथ्यांकमा वास्तविक भन्दा कम हुने गर्दछ । यससँगै बेलायतमा हालसम्म एक लाख २२ हजार ८४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बेलायतमा हालसम्म कोभिडविरुद्धको खोपको पहिलो डोज लगाउनेको संख्या दुई   करोड नाघेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ट्वीट गर्दै भनेका छन्  ‘बेलायतमा २० मिलियनले खोपको पहिलो डोज लगाउन सफल भएका छन्, यो विशाल राष्ट्रिय उपलब्धि हो ।

एनएचएस कर्मचारी स्वयंसेवक, सशस्त्र बल र अन्य थुप्रैले गरेको अथक प्रयासको प्रमाण हो ।‘  उनले भनेका छन् म सबैलाई आग्रह गर्न चाहन्छु कि, खोपको लागि बोलाउने बित्तिकै तत्कालै खोप लगाउन प्रधानमन्त्रीले आग्रह गरेका छन्  ।

प्रत्येक खोपले कोभिड विरुद्धको लडाईमा ठूलो मद्दत गर्दछ ।‘ जोन्सनले ट्वीटमा लेखेका छन्। यस्तै, बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले २ करोड (२० मिलियन) बढीले खोपको पहिलो डोज पाइसकेको पुष्टि गर्दै  खोप वितरणमा बेलायतले हासिल गरेको उपलब्धिलाई ‘विशाल’ भन्दै मन्त्री ह्यानककले महामारीबाट मुक्तिको बाटो भएको उल्लेख गरेका छन् ।

 बेलायत सरकारबाट प्रकाशित पछिल्लो तथ्यांकअनुसार बेलायतमा २ करोड ८९ हजार ५ सय ५१ जनाले कोभिड खोपको पहिलो डोज पाएका छन् । त्यस्तै, अहिलेसम्म खोपको दुवै डोज पाउनेहरू पनि ७ लाख ९६ हजार १ सय ३२ छन् ।

बेलायत सरकारले विभिन्न प्राथमिकता निर्धारण गरेर खोप वितरण गरिरहेको छ । आउँदो जुलाईसम्म देशभरका सबै वयस्क जनसंख्यालाई खोप दिइसक्ने सरकारको लक्ष्य छ ।

 बेलायतमा अहिले युरोपमा निर्मित फाइजर बायोएनटेक र बेलायतमै निर्मित अक्सफोर्ड एस्ट्राजेनिका खोप वितरण भइरहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार ०८:५४