सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षाकर्मीको दमनका कारण कम्तिमा १८ जनाको मृत्यु

काठमाडौं । म्यानमारमा भएको प्रहरी दमनको विश्व समुदायले आलोचना गरेको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले स्वतन्त्र रुपमा विरोधमा उत्रिएका नागरिकमाथि भएको प्रहरी दमनको निन्दा गरेको छ ।

सैनिक कुविरुद्ध प्रदर्शन गर्ने करिब एक हजार भन्दा बढी सर्वसाधारणलाई नियन्त्रणमा लिएको भन्दै राष्ट्रसंघलगायत विभिन्न अन्तर्राष्ट्रिय निकायले आलोचना गरेको बीबीसीले जनाएको छ । सेनाको कदम र विरोध प्रदर्शनमा भइरहेको दमनलाई अमेरिका र युरोपेली युनियनलगायतका राष्ट्रहरुले आलोचना गरेका हुन् ।

सैनिक शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा कम्तिमा १८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । रंगुन, दाबेई र मण्डले शहरमा सवैभन्दा धेरै प्रदर्शनकारी हताहत भएको जनाइएको छ ।

सैनिक शासन विरुद्ध नागरिक अवज्ञाको क्रम बढ्दै जाँदा सुरक्षाकर्मीहरुले सडक प्रदर्शन विरुद्ध बल प्रयोग बढाउँदै लगेको पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इन्टरनेट समेत अवरुद्ध गरेको सैनिक सरकारले सामाजिक संजालहरुमाथि पनि प्रतिबन्ध लगाएको छ ।

गत फ्रेब्रुअरी १ मा सैन्य कु भएपछि ठूलो संख्यामा शान्तिपूर्ण विरोध प्रदर्शनको हप्तौंपछि सुरक्षा बलले शनिबारदेखि हिंसात्मक कारवाही सुरु गरेको हो । निर्वाचनमा धाँधली भएको भन्दै म्यानमारको सेनाले नेतृ आङ साङ सुचीसहितका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सैन्य शासन लागू गरेको छ ।

म्यानमारमा एक वर्षका लागि संकटकालको घोषणा पनि गरिएको छ । नेतृ सुचीसहित नेताहरुको रिहाइको माग गर्दै भएका प्रदर्शनहरुमा सुरक्षाकर्मीले दमन सुरु गरेका हुन् । एजेन्सी

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार ०८:३२