सूचनाको शक्ति - The Power Of Information

        

जयपृथ्वीमा ७० प्रतिशत योजनाका काम सकिए

बझाङ । जयपृथ्वी नगरपालिकाभित्रका योजनाका ७० प्रतिशत काम सकिएको जनाइएको छ । आइतबारदेखि सुरु भएको नगरपालिकाको हिउँदे अधिवेशनमा नगरपालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिका उपमेयर जुना जाग्रीले सो कुरा बताएकी हुन् । उनले सूचना प्रविधिमा नगरपालिकाले फट्को मारेको बताइन् ।

नगरपालिकामा आर्थिक बर्ष २०७७/०७८ मा आएको चालु र पुजीगत रकम २४ करोड, ५५ लाख, १५ हजार, १५४ रुपैयाँ रहेकोमा ५ करोड, ८९ लाख, ८ हजार ५०५ रुपैयाँ तथा २३.९९ प्रतिशत रकम खर्च भएको समेत उपप्रमुख जाग्रीले बताए । जयपृथ्वी नगरपालिका–६ का वडाध्यक्ष नरेन्द्रबहादुर सिंहले बजेट खर्च तथा योजना निर्माण बाहेक अन्य काममा ढिलासुस्ती भएकाले सबैले काममा गति दिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख विरेन्द्रबहादुर खड्काले भौतिक विकासमा नगरपालिकाबाट ७ वटा विद्यालय भवन र्निमाण, बजार क्षेत्रमा सडक बत्ति जडान, वडाहरुमा खानेपानीको समस्या समाधान लगायतका काम गरेको र बजारको फोहर व्यवस्थापनका लागि डम्पिङसाइड बनाउने काम तथा ठाउँको खोजी भैरहेकाले केहि महिनामै जग्गा उपलब्ध गरी निर्माण गर्ने बताए । साथै खड्काले सुरुका बर्षहरु भन्दा काम तथा योजना निर्माणका कामहरु छिटोछरितो भैरहेका समेत बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार ०८:०२