सूचनाको शक्ति - The Power Of Information

        

एम्बुलेन्सको ठक्करबाट बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ घाइते

बर्दिया । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र एम्बुलेन्सको ठक्करबाट वयस्क पाटेबाघ घाइते भएको छ ।

निकुञ्जभित्र पर्ने राजमार्गको रम्मापुर–सैनवार सडकखण्डको बीचमा पर्ने बबई पुलदेखि पूर्व बुढी खोला नजिक एम्बुलेन्सको ठक्करबाट शनिवार बिहान पाटेबाघ घाइते भएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट पश्चिमतर्फ जाँदै गरेको से १ च २४२१ नम्बरको एम्बुलेन्सले बुढी खोला नजिक पाटेबाघलाई ठक्कर दिएको थियो ।

एम्बुलेन्सले बाघलाई ठक्कर दिएलगत्तै एम्बुलेन्स चालकले बाघ घाइते भएको निकुञ्ज प्रशासनलाई खबर गरेका हुन् । एम्बुलेन्स चालकले खबर गरेलगत्तै बिहानैदेखि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको टोलीले घाइते भएको बाघको खोजी गरिरहेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय ठाकुरद्वारबाट घटनास्थलतर्फ घाइते बाघको खोजीका लागि हात्तीसहितको टोली खटिसकेको छ । हात्तीको सहायताबाट आइतवार बिहानैदेखि घाइते बाघको खोजी गरिने प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो ।

एम्बुलेन्स र चालक निकुञ्जले नियन्त्रणमा लिएको छ । पूर्व पश्चिम राजमार्गभित्र पर्ने बर्दिया निकुञ्जको अम्रेनी चिसापानी सडकको बीचमा यसअघि बस र कारको ठक्करबाट दुई वटा वयस्क पाटेबाघ मरेका थिए भने मोटरसाइकलमा रहेकी एक महिलाको ज्यान गएसँगै दुई महिनादेखि लगातार रुपमा राजमार्ग छेउमा पाटेबाघ देखिन थालेका छन् ।

निकुञ्जभित्र पर्ने राजमार्गको दायाँ-बायाँ ३१/३१ मिटर क्षेत्र तत्कालका लागि झाडी सफा गर्नु पर्ने स्थानीयको माग छ । निकुञ्जभित्र पर्ने राजमार्गमा र खाता जैविक मार्ग क्षेत्रमा पर्ने हुलाकी सडकमा यथासक्य छिटो वन्यजन्तुमैत्री संरचना बनाउन संरक्षणकर्मीको माग छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतवार ०७:४५