सूचनाको शक्ति - The Power Of Information

        

मौलाउँदै असुलीधन्दा

मालबाहक सवारीतिर ट्राफिक प्रहरीको नजर, एउटै गाडीलाई २५० पटक जरिवाना !

ट्राफिक प्रहरी पोष्ट गनापुरको रोजाइँमा भारतीय मालबाहक ट्रक पर्ने गरेका छन् । प्रतिट्रक २०० भारतीय रुपैयाँसम्म असुल्ने गरेको गुनासो छ ।

बाँके । बाँकेमा ट्राफिक प्रहरीका केही पोष्टहरुमा असुलीधन्दा खुबै फस्टाएको छ । मालबाहक ट्रयाक्टर, ट्रक र ट्रिपरबाट प्रतिगाडी रकम असुलेर छाड्ने गरिएको तथ्य सार्वजनीक भएको छ । मालबाहक सवारीसाधन ट्राफिक प्रहरीको लागि घुस असुल्ने गतिलो माध्यम बनेका छन् । यस्ता सवारीसाधनबाट ट्राफिक प्रहरीले मासिक लाखौं रूपैयाँ असुल्ने गरेकोसमेत खुलेको छ ।

पश्चिम नेपालको ठूलो नाकाका रुपमा चिनिने नेपालगन्ज भन्सार हुँदै नेपालगन्ज भित्रिने तथा यहाँबाट सामान बोकेर कर्णाली तथा सुदूरपश्चिमका विभिन्न जिल्लामा जाने सवारीसाधन ट्राफिक प्रहरी पोष्ट गनापुरको रोजाइँमा पर्ने गरेका छन् । अझ ट्राफिक प्रहरी पोष्ट गनापुरले भारतीय मालबाहक गाडीलाई पहिलो प्राथमिकतामा राखेर रकम असुल्दै आएको गुनासो छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा सरुवा भएर आउने नयाँ प्रहरी प्रमूखलाई फकाइँफुल्याइँ गरेर सधैं धनौली र गनापुर पोष्टमा पोष्टिङ्ग भइरहने प्रहरी नायव निरीक्षक (सई) पशुपति नाथले अहिलेका ट्राफिक प्रहरी प्रमूख एवं प्रहरी निरीक्षक राजु भण्डारीलाई प्रभावमा पारेर चौथो पटक गनापुर पोष्टमा आएका छन् । उनको दरबन्दी भने कपिलवस्तुमा छ ।

उनी आएको दुई महिना नबित्दै राँझा क्षेत्रमा असुलीधन्दा मौलाउँदै गएको सवारी चालकहरु बताउँछन् । उनी यसअघिका ट्राफिक प्रहरी प्रमूख एवं प्रहरी निरीक्षक होम थापा, हिरेन्द्र रोकाय र पबिन्द्र बमको पालामा पनि गनापुर पोष्टको इन्चार्जकै रुपमा खटिएका थिए । असई भएदेखि अपवादबाहेक उनी गनापुरमै इन्चार्ज भएर खटिने गरेका छन् ।

बाँकेका ट्राफिक प्रहरी पोष्टमध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय, ट्राफिक प्रहरी पोष्ट धनौली र ट्राफिक प्रहरी पोष्ट गनापुरबाहेक जिल्लाभित्रका अन्य पोष्टमा अहिलेसम्म खटिएका छैनन् । दुई बर्षअघि गनापुरमै इन्चार्जका रुपमा कार्यरत रहँदा त्यस क्षेत्रका इँट्टा व्यवसायीसँग हप्ता असुलीमा सक्रिय रहेको भन्दै विवादित बनेपछि उनलाई त्यहाँबाट हटाइएको थियो ।

सो समयमा बाँकेमा हिरेन्द्र रोकाय ट्राफिक प्रहरी प्रमूखका रुपमा कार्यरत थिए । त्यतिबेला असई रहेका नाथले इँट्टा उद्योगीहरुलाई दुख दिएको गुनासो बढेपछि प्रहरी निरीक्षक रोकायले उनलाई त्यहाँबाट फिर्ता बोलाएका थिए । त्यसपछि सईमा बढुवा भएका नाथ केही समय तालिमका क्रममा जिल्ला बाहिर रहेका थिए ।

बढुवाको तालिम सकेलगत्तै फेरि उनी काज मिलाएर जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमै आइपुगे । बाँके आएलगत्तै तत्कालिन ट्राफिक प्रहरी प्रमूख पबिन्द्र बमलाई रिझाएर सई नाथ पुनः गनापुर पोष्टमा आइपुगे । उनी आएलगत्तै त्यस क्षेत्रमा असुली मौलाएको गुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई निगरानी गरिरहेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी पाएपछि त्यहाँबाट तानिएका सई नाथ जिल्ला ट्राफिक कार्यालय बाँकेमा केही समय बसे । उनीबाहेक गनापुरमा इन्चार्ज भएर जाने अन्यलाई त्यहाँबाट हटाएर पुनः आफू गनापुरमा आउन सई नाथले अनेक बाहनाबाजी गर्थे, र इन्चार्ज भएर आउने अरुलाई हटाएर आफू आइपुग्थे ।

हालका ट्राफिक प्रहरी प्रमूख एवं प्रहरी निरीक्षक राजु भण्डारीलाई रिझाएर उनी पुनः चौथो पटक गनापुरमै आएका छन् । सई नाथ गनापुरको इन्चार्ज भएर आएलगत्तै कानुनी बैद्यता पुरा गरी भारततर्फबाट नेपाल आएका मालबाहक ट्रकलाई राँझा चोकमा रोकेर जरिवानाको रसिद नदिई रकम असुल्ने गरेको गुनासो बढिरहेको छ ।

यो पनि पढ्नुस् : इँट्टा उद्योगबाट रकम असुल्दै ‘पशुपति नाथ’ !

‘भन्सार पास भएपछि कुनै किसिमले समान वा बिल बिजक जाँच गर्न सक्ने निकाय राजस्व अनुसन्धान विभाग मात्र हो । ट्राफिक प्रहरीले गाडीको कागजपत्र मात्र जाँच गर्न पाउँछन्,’ नेपालगन्जका तेजप्रकाश दिक्षितले भने । ट्राफिक प्रहरीले रसिदबाहेक पनि छुट्टै रकम लिइरहेको हुन्छ । महीनामा कति रसिद काट्ने र त्यो बाहेक कति रकम थप उठाउने टार्गेट नै हुन्छ ।

भारत बहराइच जिल्लाको बाबागन्ज घर बताउने ट्रक चालक किशोर त्रिलोकीले आफू कानुन बमोजिम नेपाल भित्रिँदा सधैं ट्राफिक प्रहरीले विभिन्न बहानामा रकम उठाउने गरेको बताए । ‘पैसा हरेक पटक लिन्छन्, रसिद दिँदैनन्,’ त्रिलोकी भन्छन्, ‘के गर्ने पैसा नदिए घण्टौंसम्म गाडी रोकिदिन्छन् । त्यसलाई हामीलाई घाटा लाग्ने भएकाले प्रतिपटक २०० भारतीय रुपैयाँ दिन्छौं ।’

उनले नेपाली भन्सारबाट सबै प्रक्रिया पुरा गरेर नेपाल भित्रिएपछि ट्राफिक प्रहरी पोष्ट नेपालगन्जमा गाडीले क्षमताभन्दा बढी सामान बोकेको नबोकेको चेकजाँच हुने र सोही बमोजिम कारबाही हुन्छ । ती गाडीहरुलाई चेकजाँच गरेपछि क्षमताभन्दा बढी सामान बोकेको पाइएमा ट्राफिक प्रहरी पोष्ट नेपालगन्जमै जरिवाना तिराएर छाडिन्छ ।

हामीले सामान धेरै बोकेपछि तलै (ट्राफिक प्रहरी पोष्ट नेपालगन्ज)मै जरिवाना तिरेर रसिद लिएका हुन्छौं । तर राँझा चोकमा रोकेर विभिन्न बहाना बनाएर रकम मागिन्छ । हामी त्यहाँ २०० भारतीय रुपैयाँ तिरेर मात्रै गन्तव्यमा जान्छौं,’ चालक त्रिलोकीले भने, ‘अन्यत्रभन्दा राँझामै बढी झण्झट व्यहोर्नुपर्छ । रकम नदिए हामी अघि बढ्नै पाउँदैनौं ।’

सई नाथका बारेमा ट्राफिक प्रहरी प्रमूख राजु भण्डारी बेखबर छैनन् । कपिलबस्तु दरबन्दी रहेका नाथलाई एउटै पोष्टमा पाँच पटकसम्म इन्चार्ज बनाएर खटाउँदा उनीमाथि पनि गम्भीर आशंका पैदा भएको छ । सत्यपाटीसँगको कुराकानीमा उनले उनका गल्तीका बारेमा भन्दा पनि यस विषयमा समाचार नलेखिदिन आग्रह गरे ।

उनले भने, ‘एक दुई महीना बाँकी छ, त्यसपछि त्यहाँबाट अन्यत्रै पठाउँला । अहिले समाचार नलेखिदिनुहोला ।’ उनले गनापुरमै पटक पटक विवादित बनेका नाथलाई पुनः सोही ठाउँको इन्चार्ज बनाएर खटाउनुको रहस्य भने गर्भमै छ । यस विषयमा गनापुर पोष्टका इन्चार्ज पशुपति नाथसँगको सम्पर्क प्रयास सफल हुन सकेन ।

यता, ट्राफिक प्रहरीले चार महीनाको अवधिमा एउटै गाडीसँग प्रतिपटक ५०० रुपैयाँका दरले ९४ पटक जरिवानाबापतको रसिद काटेको पाइएको छ । एउटा गाडीले औषतमा बार्षिक २५० पटक जरिवाना काट्ने गरेको गाडी मालिकहरु बताउँछन् । रसिद काटेर सहजै उम्किन पाउने भएपछि एक पटकमा ५०० रसिद काटेर गन्तव्यमा पुग्ने गरेको चालकहरु बताउँछन् ।

एक जना ट्रयाक्टर चालकले नाम नबताउने शर्तमा भने, ‘राँझा चोकमा मात्रै एक महीनामा २३ पटक जरिवाना काटेको छु । एक ट्रली बालुवाको विक्रीदर चार हजार रुपैयाँ हो । ५०० रुपैयाँ जरिवानाबापत रसिद काटेर दिन्छु, २०० रुपैयाँ ट्राफिकलाई मिलाइदिएपछि अन्यत्र झण्झटै हुँदैन । चार हजारको बालुवा ४ हजार ७ सयदेखि ५ हजार रुपैयाँसम्ममा ग्राहकलाई बेच्छु ।’

एउटै ट्रयाक्टरले महिनामा २० दिनसम्म जरिवाना काट्ने गरेको एक चालक बताउँछन् । यसै गरी गिटी, बालुवा, ग्रावेल र इँटा बोक्ने ट्रयाक्टर तथा ट्रिपरलाई जरिवाना गर्दा मागे जति रकम दिने गरेको स्रोतको भनाइ छ । बाँकेको गनापुर क्षेत्रमा चेकजाँचको नाममा जरिवाना असुल्ने गरेकोले ट्राफिक नियम उल्लंघन गर्नेको संख्या पनि बढ्दै गएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार १६:५४