सूचनाको शक्ति - The Power Of Information

        

भारतमा १ करोड बढीले लगाए कोरोनाबिरुद्धको खोप

काठमाडौं ।  भारतमा गत जनवरी १६ देखि कोभिड-१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् ।

कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मीहरु रहेका छन्। भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ ।

सरकारी अधिकारीले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने भएको छ । त्यसैगरी दिर्घरोगी छन् भने ४५ वर्ष माथीकालाई पनि कोरोना भाइरसविरुद्धको खोप दिइने अधिकारीको भनाइ छ ।

केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा गत बुधबार जानकारी दिएका थिए ।

सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेले भने आफैँले रकम तिर्नुपर्ने व्यवस्था गरिएको उनले बताए ।

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण ११३ जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ४८८ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड १० लाख ७९ हजार पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ ।

कोरोना भाइरस शुरु भएयता हालसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५६ हजार ९३८ जना पुगेको छ । हाल भारतमा एक लाख ५९ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने १ करोड ७ लाख ६३ हजार भन्दा बढी कोराना मुक्त भएका छन् ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबारसम्म देशभर २१ करोड ५४ लाख ३५ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ ।

शुक्रबार एकै दिनमा मात्र सात लाख ७३ हजार ९१८ जना व्यक्तिको कोभिड-१९ परीक्षण गरेको जनाइएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार १५:३५