सूचनाको शक्ति - The Power Of Information

        

अलराउन्डर युसुफ पठानले सन्न्यास लिए

एजेन्सी । दुईपटकका विश्वकप विजेता अलराउन्डर युसुफ पठानले सबै किसिमका क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिएका छन् ।

भारतले सन् २००७ मा टी–२० तथा सन् २०११ मा एकदिवसीय विश्वकपको उपाधि उचाल्दा पठान टोलीकै महत्वपूर्ण सदस्य थिए । पठानले सन्न्यास लिने उपयुक्त समय आएका कारण नै क्रिकेट करिअरलाई पूर्णविराम लगाएको बताएका छन् ।

‘समय आएकै कारण नै मैले क्रिकेट जीवनमा फुलस्टप लगाएको हुँ,’ ३८ वर्षीय अलराउन्डर पठानले शुक्रबार सामाजिक सञ्जालबाट सन्न्यास घोषणा गर्दै भने । भारतीय टोलीबाट पठानले अन्तिमपटक २०१२ को ३० मार्चमा दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गरेका थिए ।

सन् २००७ देखि २०१२ सम्म राष्ट्रिय टोलीका नियमित सदस्य बनेका पठानले ५७ एकदिवसीय तथा २२ टी–२० अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाए । एकदिवसीय खेलमा उनले ११३.६० को स्ट्राइकमा ८ सय १० रन बनाएका छन् ।

यसैगरी उनले ५० ओभरको खेलमा ३३ विकेट हात पारेका छन् । एक अलराउन्डरका साथै पिन्च हिटरका रूपमा स्थापित गरेका पठानले २२ अन्तर्राष्ट्रिय टी–२० खेलमा २ सय ३६ रन बनाउनुका साथै १३ विकेट लिएका छन् ।

टी–२० मा उनको स्ट्राइक रेट १४६.५८ रहेको छ । पठाने २००१–०२ को सिजनमा पहिलो श्रेणी क्रिकेटमा डेब्यु गरेका थिए । यू–१६ राष्ट्रिय टोलीबाट स्थान बनाएका पठानले सिनियर टोलीमा समेत राम्रा खेलाडीका रूपमा स्थापित गरे ।

पठानले एकदिवसीय खेलमा ४३ छक्का तथा टी–२० खेमा १७ छक्का प्रहार गरेका छन् । उनी अफ स्पिनर बलिङ गर्छन् । करिअरमा धेरै उतारचढावबीच पठानले सन् २०११ को एकदिवसीय विश्वकपमा स्थान बनाउन सफल भए ।

यस विश्वकपमा पठानले ६ खेलमा अवसर पाए । जसमा ११५.६२ को स्ट्राइकमा ७४ रन बनाए । यस विश्वकपमा उनले केवल एक विकेट मात्र दिए । यद्यपि उनले ३५ ओभर बलिङ गर्न अवसर पाएका थिए ।

विश्व चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो संस्करण राजस्थान रोयल्सले उचाल्दा पठानले ४ सय ३५ रन जोडेका थिए । सो प्रतियोगितामा पठानले २१ बलमै अर्धसतकीय इनिङ्सको रेकर्ड राखेका थिए ।

सन् २००८ को आइपिएल फाइनलमा पठानले ३९ बलमा ५६ रन मात्र बनाएनन् २२ रन खर्चेर तीन विकेट पनि लिए । आइपिएलमा उनले तीनवटा टोलीबाट प्रतिस्पर्धा गरेका छन् ।

सन् २००७ को टी–२० विश्वकपको फाइनलमा उनले भारतीय टोलीबाट डेब्यू गरेका थिए । ओपनर वीरेन्द्र सेहवाग घाइते भएपछि उनले स्थान बनाए । पठानले आइपिएलमा १ सय ७४ खेलमा तीन हजार दुई सय ४ रन जोडेका छन् ।

यसक्रममा उनले १ सय ५८ छक्का प्रहार गरे । आइपिएलमा उनको नाममा ४२ विकेट छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार ०९:५४