सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज–ठाकुरद्वारा ‘पर्यटक बस’ सञ्चालनमा

बाँके । आन्तरिक र विदेशी पर्यटकलाई बर्दिया राष्ट्रिय निकुञ्जसम्म आवागमन गर्न सहज बनाउने उद्देश्यले नेपालगन्जदेखि बर्दियाको ठाकुरद्वारासम्म पर्यटक बस सञ्चालन गरिएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट नाट्टा बाँकेले आन्तरिक र विदेशी पर्यटकको सहजतासँगै नेपालगन्जबाट ठाकुरद्वारालाई सीधै जोड्नका लागि शुक्रबारदेखि पर्यटक बस सञ्चालनमा ल्याएको हो ।

नेपालगन्ज–पोखरा–नेपालगन्जका लागि गत साताबाटै चार्टर्ड विमान सञ्चालन गरेर आन्तरिक पर्यटनका लागि महत्वपूर्ण पहल लिएको नाट्टा बाँकेले नेपालगन्ज–ठाकुरद्वाराका लागि पनि पर्यटक बस सञ्चालन गरेर पर्यटन विकासमा अर्को कदम चालेको होटल व्यवसायी सङ्घ बाँकेले जनाएको छ । सो बसलाई नेपालगन्ज उपमहानगरका मेयर डा.धवलशमसेर राणाले झण्डा देखाएर ठाकुरद्वारातर्फ शुक्रबार अपराह्न प्रस्थान गरे ।

होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई माथि उकास्न नेपालगन्ज–पोखरा हवाई उडान र नेपालगन्ज–ठाकुरद्वारा पर्यटक बस सञ्चालनले ठूलो सहयोग हुने बताए । नेपालगन्जबाट बर्दियाको ठाकुरद्वाराका लागि सवारीसाधनको अभाव रहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकलाई लक्षित गरेर पहिलो पटक पर्यटक बस सञ्चालन गरिएको नाट†टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

उनले अब यसपछि नेपालगन्जदेखि सुर्खेतको देउतीबज्यै, प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउराली, कपिलवस्तुको तिलौराकोट लगायतका ठाउँमा पनि पर्यटक बस सञ्चालन गर्ने योजना रहेको बताए । नेपालगन्जबाट सञ्चालन गरिएको उक्त बस बर्दियाको मैनापोखर, बढैयाताल, गुलरिया, मधुवन, ओरालीबजार हुँदै ठाकुरद्वारासम्म पुग्नेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार ०७:४७