सूचनाको शक्ति - The Power Of Information

        

समाचार

एड्सका कारण बाँकेमा १५४ को मृत्यु, स्वस्थ बच्चा जन्माउँदै संक्रमित महिला

बाँके । एड्सका कारण बाँकेमा १५४ जनाको मृत्यु भएको छ । कुल एक हजार २१७ एचआइभी संक्रमितमध्ये १५४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत धीरजंग शाहले जानकारी दिए ।

भेरी अस्पतालमा एन्टिरेक्ट्रो भाइरल ट्रिटमेन्ट (एआरटी) सेवन गर्नेको संख्या ४८३ जना रहेको एड्स हेल्थ केयर फाउन्डेसन नेपालगन्जका कोर्डिनेटर सञ्जयकुमार पौडेलले बताए । उनले बाँकेमा २० बालक र आठ बालिका गरी २८ जना एचआइभी संक्रमित बालबालिका रहेको बताए । ती सबै बालबालिकाले पनि भेरी अस्पतालबाट नियमित रूपमा एआरटी सेवन गर्दै आएको उनले बताए ।

यस्तै एक वर्षमा १६ संक्रमित महिलाले जन्माए स्वस्थ बच्चा जन्माएका छन् । एचआइभी संक्रमित आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम (पिएमटिसिटी) कार्यक्रम लागू भएपछि स्वस्थ बच्चा जन्माउन थालेका हुन् । बाँकेमा ०७६ साउनदेखि ०७७ असारसम्म १६ जना एचआइभी संक्रमित महिलाले बच्चा जन्माएकोमा एकजना बच्चामा मात्र एचआइभी संक्रमण देखिएको छ ।

गर्भवती महिलाले अन्तिम समयमा मात्र पिएमटिसिटी सेवा लिएका कारण बच्चालाई एचआइभीबाट जोगाउन नसकिएको भेरी अस्पतालका फिजिसियन तथा एचआइभी/एड्स फोकलपर्सन डा.संकेत रिसालले बताए । गर्भ रहनेबित्तिकै अस्पतालको सम्पर्कमा आएका महिलाले स्वस्थ बच्चा जन्माउने गरेको उनको भनाइ छ । गर्भवती महिलाको अनिवार्य एचआइभी परीक्षण गरिन्छ ।

पोजेटिभ पाइएका आमाको सुरुदेखि अन्तिम चरणसम्म निगरानी गर्दै आएको डा. रिसालले बताए । ‘गर्भवती भएका महिलामा एचआइभी संक्रमण भएको पाएपछि निगरानी सुरु गर्छौँ, त्यहीअनुसारको उपचार व्यवस्था मिलाउँछौँ,’ डा. रिसालले भने, ‘संक्रमित भएका केही गर्भवती अझै पनि निगरानीमा छन् । सन्तान नजन्माउँदासम्म निगरानी गरी उपचार गर्छौँ ।’

संक्रमित गर्भवतीलाई एआरटी औषधि नियमित खुवाइन्छ । त्यसले गर्भवती आमाबाट बच्चामा एचआइभी सर्नबाट बचाउँछ । चिकित्सकका अनुसार बच्चा जन्मेपछि प्रोफाइल लेसिसनामक झोल खुवाइन्छ । ‘शिशुको स्वास्थ्य अवस्था जाँच्न डिएनए पिसिआर गरिन्छ । संक्रमित आमाबाट जन्मेका शिशुको १८ महिना पुगेपछि फेरि जाँच गरिन्छ,’ उनले भने ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार ०७:०३