सूचनाको शक्ति - The Power Of Information

        

अज्ञात रोगले दमदुर, कुलाली र जोशी गाउँका नागरिक प्रभावित

बझाङ । अज्ञात रोगका कारण बझाङको जयपृथ्वी नगरपालिकाका दुई वटा वडाका नागरिक प्रभावित भएका छन् । नगरपालिकाको वडा नं.८ जोशी गाउँ र वडा नं. १० दमदुर, कुलाली गाउँका नागरिक करिब एक हप्तादेखि पहिचान हुन नसकेको रोगका कारण गाउँनै प्रभावित भएको स्थानीय उमाकान्त जोशीले बताए ।

उनका अनुसार प्रायः गाउँमा बृद्ध र बालबालिकामा यस्तो समस्या देखिने गरेको पाइएको छ । साथै विरामीहरुमा ज्वरो आउने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, खाना नरुच्ने जस्ता लक्षणहरु देखिएको स्थानीय लक्ष्मण जोशीले बताएका छन् । रोगको पहिचान हुन नसकेपछि स्थानियहरु आफु संग भएको रोगै पहिचान नगरी औषधी सेवन गर्न थालेका छन् ।

जिल्ला अस्पताल सिमखेतका प्रमुख डा.सन्दिप ओखेडाले अहिले ज्वरो आउने, रिंगटा लाग्नेजस्ता लक्षणहरु मौसम परिवर्तनका कारणले पनी यस्ता लक्षणहरु देखापरेको हुनसक्ने बताएका छन् । साथै ओखेडाले त्यस्तो असहज परिस्थिति भएमा तुरुन्त नजिकैको स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल आउनसमेत आग्रह गरेका छन् । जिल्ला अस्पतालमा समेत अहिले ज्वरोका विरामीहरुको भीड लाग्न थालेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार १७:३४