सूचनाको शक्ति - The Power Of Information

        

सबै दलहरु आन्तरिक तयारीमा 

कांग्रेसले बोलायो पदाधिकारी बैठक, नेकपा (ओली) समूहको स्थायी कमिटी बैठक बस्दै

सरकार गठनमा कांग्रेस निर्णायक

काठमाडौं । कांग्रेसले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएको हो। दिउसो ३ बजे बस्ने बैठकमा पार्टीका पूर्वपदाधिकारीलाई समेत बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

मुख्य सचिव पौडेलका अनुसार कांग्रेस पदाधिकारी बैठकमा संसद् पुनःस्थापनाको राजनीतिक घटनाक्रम, भावी रणनीति र नेकपा (दाहाल–नेपाल) समूहको प्रस्तावबारे छलफल हुनेछ।

१२ फागुनमा कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठ पुगेका नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सत्ता साझेदारीका लागि प्रस्ताव गरेका थिए।

त्यहि प्रस्तावमाथि छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बोलाइएको हो। जसमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ। सरकार गठनमा कांग्रेस निर्णायक रहेको छ।

त्यस्तै, नेकपा (ओली) समूहले पनि आज स्थायी कमिटी बैठक बोलाएको छ। १२ फागुनमा पनि स्थायी कमिटी बैठक बसेको थियो।
तत्कालीन राजनीतिक अवस्थाबारे छलफल गर्न र आगामी रणनीति तय गर्न स्थायी कमिटी बैठक बोलाएको हो।

नेकपा (दाहाल–नेपाल) समूहको १२ फागुनमा संसदीय दलको बैठक बसेको थियो। नेकपाले सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि संसद् पुनःस्थापना भएको छ। यससँगै १३ दिनभित्र संसद् बैठक बोलाउन पनि सर्वोच्चले आदेश दिएको छ। जसले गर्दा सबै दलहरु आन्तरिक तयारीमा जुटेका हुन्।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार ०८:०४