सूचनाको शक्ति - The Power Of Information

        

ओलीमाथि नैतिक प्रश्न

राजीनामा नगर्ने अडानमा प्रधानमन्त्री, राजीनामा दिनु उत्तम विकल्प

उनकै समूहका नेताले पनि राजीनामा दिनु उत्तम विकल्प भएको सुझाएका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि उनीमाथि नैतिक प्रश्न उठेको छ । अदालतले ओलीको कदमलाई असंवैधानिक भनेसँगै नेकपाका अधिकांश नेताहरुले उनको राजीनामा मागेका छन् ।

उनकै समूहका नेताले पनि राजीनामा दिनु उत्तम विकल्प भएको सुझाएका छन् । तर, ओली आफैँ भने राजीनामा नगर्ने अडानमा छन् । ओली समूहका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजीनामा दिने विषयमा आफूहरु छलफलमै रहेको बताए ।

‘अबको परिदृश्य कस्तो हुन्छ । हामीबाट जानुभएका साथीहरुले काँग्रेससँग समीकरण बनाउने विषयमा पनि छलफल भइरहेको भन्ने सुनेका छौं । त्यो ठीकै पनि होला,’ ज्ञवालीले भने । ओली समूहको बुधवारको स्थायी कमिटीको बैठकमा पनि नेताहरुले ओलीलाई राजीनामाबारे जिज्ञासा राखेका थिए ।

तर, ओलीले आफ्नो राजीनामाभन्दा मुलुकको चिन्ता भएको बताएर त्यसलाई टारेका थिए । ‘राजीनामाबारे जिज्ञासा राख्दा उहाँले मुलकको चिन्ता भएको बताउनुभयो,’ बैठकमा सहभागी एक नेताले भने ।

बुधवार बालुवाटारमा बसेको बैठकले केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक बोलाउने बारेमा पनि निर्णय गरेको छ । तर, मिति भने तोकिएको छैन । भोलि बस्ने सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठकले संसदीय दलको बैठकको मिति तय गर्ने ज्ञवालीले बताए ।

ओली समूहले तय गरेका विभिन्न कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अदालतले १३ दिनभित्र संसद वैठक बोलाउन माग गरेकाले त्यसको कार्यान्वयन गरिने ज्ञवालीले बताए । ’अदालतको फैसला अनुसार नै संसद अधिवेशनको आह्वान हुन्छ,’ उनले भने ।

के को तयारी गर्दै छन् ओली ?

राजीनामा दिनुपर्ने दबाव भएपनि ओलीले राजीनामा नदिएर संसद फेस गर्ने तयारी गरेका छन् । त्यसका लागि उनले आफ्नो समूहमा बहुमत जुटाउन संसदीय दलको बैठक बोलाउने उनी निकट नेताहरुले बताए ।

प्रचण्ड–नेपाल समूहमा रहेका सांसदहरुलाई समेत ओलीले फकाइरहेका छन् । त्यसका लागि प्रचण्ड–नेपाल समूहका नेताहरुसँग ओली निकट नेताहरुले अनौपचारिक छलफल तीब्र पारेका छन् ।

परराष्ट्रमन्त्री तथा ओली समूहका प्रवक्ता ज्ञवालीले अनौपचारिक छलफल भइरहेको स्वीकारे । ‘फैसलापछि अनौपचारिक रुपमा पनि छलफल भएको छ । औपचारिक भने कोहीसँग पनि कुराकानी भएको छैन्,’ उनले भने ।

संसदीय दल विभाजित नभएको दावी

प्रचण्ड–नेपाल समूहले बुधवार नै संसदीय दलको बैठक बोलाएको छ । प्रचण्ड–नेपालले ओली समूहमा लागेका सांसदलाई समेत मुल पार्टीमा फर्कन आग्रह गरिरहेका छन् । ओली समूहले पनि संसदीय दलको बैठक बोलाउने तयारी भएको जनाएको छ ।

संसदीय दल विभाजित नभएको परराष्ट्रमन्त्री ज्ञवालीको तर्क छ । ‘संसदीय दलको बैठक विभाजित छैन । संसदीय दलको नेता र उपनेताले बैठक बोलाउनुहुन्छ । र, बैठक बस्छ,’ उनले भने । प्रचण्ड नेपाल समूहले बोलाएको संसदीय दलको बैठक आधिकारिक नभएको उनको दावी छ ।

‘दलको नेता र उपनेताले बैठक बोलाउनु भएको छैन । अब अरुले बोलाएको बैठकबारे थाहा भएन,’ उनले भने, ‘भोलि स्थायी कमिटीको बैठक बस्छ । त्यसले संसदीय दलको बैठक बोलाउन सक्छ ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार १५:३९