सूचनाको शक्ति - The Power Of Information

        

सरकार परिवर्तनको खेल सुरु

काँग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा सत्ता सहकार्यको प्रस्ताव

सातै प्रदेशमा कांग्रेसको समर्थनमा नेकपाको सरकार हुनुपर्ने शर्त पनि सारिएको छ ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेपाली कांग्रेससँग सत्ता सहकार्यका लागि प्रस्ताव गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेर सत्ता सहकार्यका लागि प्रस्ताव गरेका हुन् ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले अध्यक्षद्वयले सभापतिसँग सँगै मिलेर जाने प्रस्ताव गरेको जानकारी दिए । ‘भेटका क्रममा समसामयिक राजनीतिका बारेमा छलफल भयो’ देउवाले भने, ‘उहाँहरुले पछिल्लो राजनीतिक घटना क्रममा मिलेर जान प्रस्ताव गर्नुभयो ।’ सभापति देउवाले नेकपाले गरेको प्रस्तावका बारेमा पार्टीमा छलफल गरेर जवाफ दिने प्रतिक्रिया दिएको उनले बताए ।

प्रस्तावका बारेमा पार्टीमा छलफल गरेर फेरि भेटेर कुरा गर्ने भनेको भानुले जानकारी दिए । बिहीबार बस्ने पदाधिकारी बैठकमा प्रस्तावका बारेमा छलफल हुने पनि भानुले जानकारी दिए । बूढानीलकण्ठमा उनीहरुका बीचमा झण्डै आधा घण्टा छलफल भएको थियो । संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसला लगत्तै मंगलबार नै देउवा र दाहालबीच टेलिफोन वार्ता भएको थियो ।

स्रोतका अनुसार प्रचण्ड–माधव पक्षले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको छ । ओलीबाहेकमा सहमति गरेर अघि बढ्नुपर्नेमा प्रचण्ड–नेपाल पक्ष लागिपरेका जनाइएको छ । यद्यपि देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावमा सहयोग गर्ने लगायतका शर्त राखिएका छन् । त्यस्तै, सातै प्रदेशमा कांग्रेसको समर्थनमा नेकपाको सरकार हुनुपर्ने शर्त पनि सारिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार १५:२१