सूचनाको शक्ति - The Power Of Information

        

संसद् पुनःस्थापना

पम्फा भुसालले भनिन्, ‘प्रधानमन्त्रीले राजीनामा गलहत्याएर निकाल्छौं’

अदालतले तोकेको समयभित्रै संसद् बोलाउने ओली समूहको निर्णय

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने चेतावनी दिएकी छन् । राजधानी काठमाडौंमा निकालिएको विजय सभालाई सम्बोधन गर्दै भुसालले अलिकति पनि नैतिकता बाँकी रहे तत्काल राजीनामा दिनुपर्ने बताइन् ।

‘मैले त हिजै राजीनामा आउँला भनेको सोचेको थिएँ । तर, आएन । अझै पनि अलिकति नैतिकता भए राजीनामा दिएर ठाउँ खाली गरिनुपर्छ,’ उनले भनिन् । बालुवाटारको स्थायी कमिटीबाट प्रधानमन्त्रीको राजीनामा गर्ने निर्णय आउनेमा आशा गरिन् । तर, अझै पनि हारेको प्रतिगामीले उठ्ने प्रयास गरेमा त्यो दिवा सपना हुने उनले बताइन् । भुसालले राष्ट्रपतिलाई समेत राजीनामा दिन आग्रह गरिन् ।

‘पशुपतिमा गएको सुनेँ । त्यहाँ क्षमा याचना गर्नुभन्दा जनतासँग क्षमा याचना गर्नुहोस्’, उनले भनिन् । जनसंघर्ष समितिका सहसंयोजक भुसालले राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको बताइन् । ‘प्रधानमन्त्रीले संविधानको हत्या गर्ने अनि राष्ट्रपतिले त्यसको टीका लगाउने गर्नुभयो,’ उनले भनिन् । राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिनुपर्ने उनको भनाइ थियो । विजय जुलुसमा सर्वोच्च अदालत प्रति सम्मान व्यक्त गरिएको थियो ।

अदालतले तोकेको समयभित्रै संसद् बोलाउने ओली समूहको निर्णय

नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

‘संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ । फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्छ,’ ज्ञवालीले भने । त्यस बीचमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल हुने उनले बताए । सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार १४:४५