सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षा परिषद्को बैठक

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै, के संकटकाल लाग्ला ?

अध्यक्षता परिषद्को प्रमुख तथा प्रधानमन्त्रीले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गर्नु भएको छ । सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजेका लागि बैठक डाकिएको छ । बैठकको अध्यक्षता परिषद्को प्रमुख तथा प्रधानमन्त्रीले गर्नुहुनेछ ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठक खास अवस्थामा बस्छ । खासगरी राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्छ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने चलन छ ।

स्रोतका अनुसार संसद पुनःस्थापना भए के गर्ने भन्ने विषयमा प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेता तथा कुटनीतिक वृत्तसँग छलफल गरिरहनु भएको छ । विभिन्न दलका नेता र सुरक्षा निकायका प्रमुखसँगपनि प्रधानमन्त्रीले भेट गरेर परामर्श लिनुभएको स्रोतको भनाइ छ ।

‘संसद पुर्नस्थापना भए संकटकाल लगाउने प्रधानमन्त्रीको तयारी छ’, स्रोतले भन्यो’ ‘त्यसका लागि आफू पक्षीय नेता तथा विपक्षी दलका नेताहरुसँग पनि प्रधानमन्त्रीले परामर्श लिनुभएको छ ।’ त्यसका लागि प्रधानमन्त्रीले सुरक्षा परिषदको बैठक डाक्नुभएको स्रोतले बतायो ।

संसद पुनस्थापनाको पक्षमा अदालतले निर्णय गरे र सुर्य चिन्ह आफूलाई नदिए आन्दोलनका लागि उर्तिने प्रधानमन्त्रीले धम्की दिनुभएको छ । सो धम्की दिएको केही दिनपछि बस्न लागेको परिषद्को बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि सोमबार प्रधानसेनापति पूर्णचन्द्र थाप र प्रधानन्यायधिश चोलेन्द्रशमशेर जबराबीच भेटघाट भएको थियो । प्रतिनिधि सभा विघटनको मुद्दाको फैसला सुनाउने अन्तिम अवस्थामा भएको यो भेटले राजनीतिमा तरंग ल्याएको छ ।

परिषद्का सदस्यसचिव तथा रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले भने मंगलबार बिहान डाकिएको बैठक नियमित भएको प्रतिक्रिया दिनु भएको छ ।

यसअघि परिषद्को बैठक ५ कात्तिक ०७७ मा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो । त्यही राति भारतीय खुफिया एजेन्सी ‘र’का प्रमुख सामन्त गोयललाई प्रधानमन्त्री ओलीले बालुवाटारमा स्वागत गर्नुभएको थियो ।

सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ । परिषद्को सदस्यसचिव भने रक्षाका सचिव हुन्छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलवार ०७:५६