सूचनाको शक्ति - The Power Of Information

        

सरकारसँग माग

स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण, ‘भेरी अस्पताललाई विज्ञान प्रतिष्ठान बनाऔं’

बाँके । बर्सेनि पश्चिम नेपालका हजारौँ बिरामीको उपचार गर्दै आएको भेरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन अस्पताल विकास समितिले सरकारसँग माग गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई ध्यानाकर्षण पत्र पठाउँदै समितिले भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै केन्द्रमा रहेकाले तत्काल यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा घोषणा गर्न माग गरेको हो ।

ध्यानाकर्षण पत्रमा ७० लाखभन्दा बढी जनतालाई सेवाभित्र समेट्न सक्ने यो अस्पतालको पूर्वाधार निर्माण, उपकरणदेखि जनशक्ति व्यवस्थापनसम्मको पहल सरकारले तत्काल गरिदिनुपर्ने माग गरिएको छ । कोरोना महामारीका बेलासमेत स्वास्थ्य सेवा प्रवाह गर्न अग्रणी भूमिका निर्वाह गरेको यो अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकसित गर्नुपर्ने माग उठाइएको अस्पतालका प्रमुख डा.प्रकाश थापाले बताए ।

अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले सरकारले भेरी अस्पताललाई विशिष्टीकरण सेवा प्रदान गर्ने अस्पतालका रूपमा घोषणा गरिसकेकाले तत्काल थप दरबन्दी स्वीकृति गरिनुपर्ने माग पनि स्वास्थ्यमन्त्रीसँग राखिएको बताए । अस्पतालमा रहेका विभिन्न विशेषज्ञ विभागमा दरबन्दीअनुसार चिकित्सक र अन्य स्वास्थ्यकर्मी नहुँदा सेवा दिन समस्या हुँदै आएको छ ।

स्वास्थ्यमन्त्रीलाई पठाइएको पत्रमा चिकित्सकको आवास घर निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने, एमआरआई मेसिन खरिदका लागि बजेट उपलब्ध गराउनुपर्ने, पोस्टमार्टम घर निर्माणका लागि बजेट उपलब्ध गराउनुपर्ने माग पनि गरिएको समितिले जनाएको छ । अस्पतालमा अहिले थप २६० शैय्याको नयाँ अन्तरङ्ग विभाग र ओपीडी ब्लकका लागि सात तले भवन निर्माणको विस्तृत गुरुयोजना बनिरहेको छ । त्यसको आधारमा आगामी बजेटमा सुनिश्चितता गर्न यसै आर्थिक वर्षमा आवश्यक प्रक्रिया सुरु गर्न पनि स्वास्थ्यमन्त्री त्रिपाठीसँग आग्रह गरिएको समितिका सदस्य श्रेष्ठले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार ०६:२६