सूचनाको शक्ति - The Power Of Information

        

'काेभिशिल्ड'

सरकारले भारतसँग किनेको कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्यो

२३ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउने

काठमाडौं । भारतसँग किनेको कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । एअर इण्डियाकाे विमानमार्फत दिउँसो २ बजे खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवत्ता डाक्टर समीर अधिकारीले जानकारी दिनुभयो ।

खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतवार १० लाख ‘काेभिशिल्ड’ डोज खोप नेपाल आइपुगेको हो । बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने मन्त्रालयका सहप्रवक्ता अधिकारीकाे भनाइ छ ।

काठमाण्डौ आइपुगेको १० लाख डोज खोपलाई टेकुमा रहेको चिस्यान केन्द्रमा भण्डारण गरिनेछ । गएको बुधबार नेपालले सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिद गर्ने सम्झौता गरेकोमा त्यसको पहिलो खेप नेपाल ल्याइएको हो ।

यसअघि भारत सरकारले नेपाललाई अनुदान स्वरूप कोभिशिल्ड खोपको १० लाख मात्रा उपलब्ध गराएको थियो । त्यही खोप प्रयोग गरेर नेपालमा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु भइसकेको छ । सरकारले फागुन २३ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउने जनाएको छ  ।

अहिले भारतबाट ल्याइएको खोप पनि पहिलाकाे जस्तै सुरक्षित भएकाले ढुक्क भएर लगाउन राष्ट्रिय खाेप सल्लाहकार समितिका सदस्य डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतवार १८:०८