सूचनाको शक्ति - The Power Of Information

        

पूर्ण खोप सुनिश्चितता गाउँपालिका बन्यो नरैनापुर

बाँके । बाँकेको नरैनापुर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाले शनिबार पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेको हो । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पालिकालाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरे । खोप लगाउन छुटेका १६ देखि २३ महिनाका १३५ जना बालबालिकालाई खोप लगाइएपछि नरैनापुर गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका बनेको हो ।

गाउँपालिकाले यसअघि फागुन ५ गते सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेको थियो । पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम गाउँपालिकाका अध्यक्ष शाहको अध्यक्षता एवम् जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले पूर्ण खोप सुनिश्चिततालाई अब दिगोपना दिनतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाह, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, वडा नम्बर ३ का वडाध्यक्ष राजकुमार मौर्य, स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्मा, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्रकुमार साह, युनिसेफका प्रतिनिधि कृष्णहरि मैनाली लगायतले पनि आफ्ना धारणा राखेका थिए ।

नरैनापुर गाउँपालिका पूण खोप सुनिश्चितता घोषणा भएसगैं बाँकेमा बैजनाथ गाउँपालिका मात्र पूर्ण खोप सुनिश्चितता घोषणा हुन बाँकी छ । जिल्ला समन्वय समितिले आगामी फागुन मसान्तसम्म बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतवार १३:४३