सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश १: प्रदेश सभा अवरोध गर्ने ओली समूहको तयारी

काठमाडौं । प्रदेश १ को प्रदेश सभा बैठक आइतबार बस्दैछ । दिउसो बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहले दर्ता गराएको अविश्वासको प्रस्तावबाहेक कुनै विजनेश छैन ।

तर सत्तापक्ष नेकपाको ओली समूहले भने मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न नदिने रणनीतिमा छ । यसअघि ओली समुहको अवरोधका कारण अविश्वास प्रस्ताव दर्ता हुने सकेको छैन ।

मुख्यमन्त्री राईले भने अविश्वासको प्रस्ताव जबरजस्ती अघि बढाए प्रदेशसभा भंग गर्ने चेतावनी दिनुभएको छ । गत माघ २५ गते ओली समुहका सांसदहरूले विरोध जनाएपछि कार्यसूचीमा प्रवेशै नगरी बैठक स्थगित भएको थियो ।

नेकपाका दाहाल नेपाल समुहका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । यस अघि माघ ७ गते बोलाएको बैठक ३ मिनेट बसेर स्थगन भएको थियो । विपक्षी कांग्रेसले अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा उभिने भन्नेमा अहिलेसम्म ठोस निर्णय लिएको छैन ।

कांग्रेसले प्रदेशसभाको बैठक जसरी अघि बढ्ने र सोहीअनुसार निर्णय लिने जनाएको छ । ९३ सदस्यीय प्रदेशसभामा नेकपाको दुवै समुह गरि ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक एक जना सांसद छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतवार ०९:१५