सूचनाको शक्ति - The Power Of Information

        

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिक, यस वर्ष ५,५४३ जना पीडित

काठमाडौं ।  अनौपचारिक सेवा केन्द्र(इन्सेकले) सन् २०२० मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको तथ्यांक सार्वजनिक गरेको छ।

शुक्रबार ‘नेपाल मानवअधिकार वर्ष पुस्तक-२०२१’विमोचन गर्दै अनौपचारिक सेवा केन्द्र(इन्सेक)ले सन् २०२० मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको तथ्यांक सार्वजनिक गरेको हो। यस वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा ५८ महिला र ६ सय १७ पुरुष गरी जम्मा ६ सय ७५ जना घटना एका छन्।

यस्तै ज्यादतीका घटनामा ४ हजार २ सय ७१ महिला, ५ सय ९५ जना पुरुष, एक तेस्रोलिंगी र एकजना नखुलेकोसहित जम्मा ४ हजार ८ सय ६८ जना पीडित भएको अभिलेख भएको इन्सेकले जनाएको छ।

राज्यपक्षबाट सात जनाको हत्या भएको तथा यातनाका घटनामा नौ जना, गिरफ्तारीका घटनामा ३ सय ७० जना, जातिय विभेदका घटनामा ४८ जना, अमानवीय व्यवहारका घटनामा २५ जना, भेला तथा संगठित हुने अधिकारमा ९४ जना, धम्कीका घटनामा २५ जना र कुटपिटका घटनामा ३ सय २० जना पीडित भएका छन्।

सन् २०१९ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ६ हजार ६ सय ४२ जना पीडित भएका थिए। वर्ष २०२० मा कोभिड महामारीका कारण मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका सबै घटनाहरू कानूनी प्रक्रियासम्म नआइपुगेको साथै घटनाहरूको अनुगमन गर्ने कार्यमा बाधा पुगेको कारणले गर्दा घटनाहरूको सङ्ख्यामा कमी देखिएको इन्सेकले बताएको छ।

सन् २०२० मा महिलाविरुद्ध हुने सबै प्रकारका दुर्व्‍यवहार घटनामा २ हजार ६ सय ६ जना पीडित भएका छन्। यस वर्ष बेचबिखनका प्रयासका घटनामा ३२ जना, घरेलु हिंसाका घटनामा १ हजार ३ सय ४६ जना, कथित बोक्सीको आरोपमा ५८ जना, बलात्कारका घटनामा ६ सय ४८ जना, बलात्कार प्रयासका घटनामा १ सय ५२ जना, यौन दुर्व्‍यवहारको घटनामा ६२ जना र बेचबिखनका घटनामा २५ जना महिला पीडित भएको तथ्यांक रहेको छ। परिवारजनबाट १ सय २ जना महिलाको हत्या भएको छ भने भनेजति दाइजो नल्याएको आरोपमा तीन जना महिलाको हत्या भएको छ र १२ जना महिला हिंसामा परेका छन्।

सन् २०२० मा बाल अधिकार उल्लङ्घनका घटनामा १ हजार ४ सय ६१ जना पीडित भएका छन्। जसमध्ये बलात्कारका घटनामा ९ सय ८९, यौन दुर्व्यवहारको घटनामा ३ सय ५६, विद्यालयमा शारीरिक सजाय दिइएका घटनामा १९ जना बालबालिका पीडित भएको पाइएको छ। देशभरका कारागारको क्षमता ११ हजारको हाराहारीमा भए पनि २३ हजारभन्दा बढी कैदीबन्दी रहेको देखिएको छ।

क्षमताभन्दा बढी राखिएका कैदीबन्दीलाई सुत्न, बस्न, खाना पकाउन, खान, हिँडडुल गर्न, शौचालय जान, नुहाउन तथा खानेपानीका साथै विभिन्न रोगको सङ्क्रमणजस्ता समस्या देखिएको इन्सेकले बताएको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार २१:१४