सूचनाको शक्ति - The Power Of Information

        

भागरथी हत्या प्रकरण

दिनेशको बयान फेरियो, ‘बलात्कारपछि भागरथीको हत्या गरेको हुँ’

बुवा दीपकराजको पीडा, ‘मसँगै हुँदा भागरथीको हत्या गरें भन्छ, कसरी नपत्याऊँनू ?

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ बर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका भनिएका अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् । बिहीबार सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले बलात्कारपछि हत्या गरेको स्वीकारेका दिनेशका बुवा दीपकराज भट्टले जानकारी दिए । बुधबार सार्वजनिक गरिएका दिनेशले यसअघि आफूले हत्या मात्रै गरेको बताउँदै आएका थिए ।

तर बिहीबार दिनेशका बुवा, प्रहरी अनुसन्धान अधिकृत, सरकारी वकिलसहित रहेको टोलीले संयुक्त रुपमा लिएको बयानमा बलात्कारपछि हत्या गरेको स्वीकारेका हुन् । दिनेशका बुवा दीपकराजले भने, ‘यसअघि छोराले त्यत्रो अपराध गरेको होला भनेर लागेकै थिएन । तर आफूसमेत रहेको बेला लिइएको बयानमा सबै मैले गरेको हुँ भन्छ,’ कसरी नपत्याऊँनू ।’ दिनेशले आज पनि २ बयान गरेका छन ।

दिनेशले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका बेला बुवा दीपकराजलाई आफूले हत्या मात्रै गरेको बताएका थिए । तर सरकारी वकिल कार्यालयमा लिएको बयानमा बलात्कारसमेत आफैले गरेको बताएका हुन् । दीपकराजले भने, ‘प्रहरीभित्रै रहेको बेला भेट्दा हत्या मात्रै गरेको हुँ भन्यो तर पछि आएर बलात्कार पनि गरें भन्यो ।’ यस्तै आजै बयानका क्रममा दिनेशले घटनास्थलमै भागरथीको घडी पनि रहेका बताएका थिए ।

दिनेशले भनेकै आधारमा प्रहरीले घटनास्थलमा खोज्दै जाँदा घडी पनि फेला पारेको थियो । दिनेशले माघ २१ गते विद्यालयको हाफटाइमको समयमा जिस्काएको बयान दिएका छन् । दिनेशले दिएको बयानका आधारमा बुवा दीपकराजले भने, ‘हाफटाइममा भागरथीले जिस्काएपछि मैलै उसको छुट्टी हुने समयमै आफ्नो कक्षा छाडे, त्यसपछि खोचलेक बजारबाट पिछा गर्दै लवलेक जंगलमा घटना गरे भन्यो ।’

यसका साथै दिनेशले पुरानो घरायसी रिसिइबी पनि थियो भनेर सुनेको भनेर बयानमा भनेका छन् । दीपकराजले भने, ‘पुरानो घरायसी रिसीबी र विद्यालयको हाफटाममा जिस्काएको भनेर भनेको छ ।’ लवलेक जंगलमा पुगेपछि पहिला सडकबाट धकेलेर भीरमा लडाएको त्यसपछि बेहोस अवस्थामा बलात्कार गरेको र पछि घाँटी निमोठेर हत्या गरेकोसमेत बयान दिएका छन् । भागरथी र दिनेश एकै गाउँ चडेपानीका हुन् । नाताले दुबैजना दिदीभाइ पर्छन् ।

दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा भागरथी कक्षा १२ र दिनेश कक्षा ११ मा पढ्थे । गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लबलेक जंगलमा बीभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् । त्यसपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको थियो । भागरथीको शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको छ ।

दिनेशले सार्वजनिक गर्दासम्म हत्यामात्रै गरिएको भन्ने बयान दिएकोले यसअघि आशंका पैदा भएको थियो । बुधबार पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक डिआइजी उत्तमराज सुवेदीले दिनेशको शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा सार्वजनिक गरिएको बताएका थिए । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरेको थियो ।

उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिकहरु खटिएका थिए । हाल वरिष्ठ उपरीक्षक पाण्डेको टोलीको नेतृत्वले थप अनुसन्धान गरिरहेको छ । बुधबार नै मृतक भागरथीका दाजु शंकर भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गरेकाले जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान गर्न बैतडी प्रहरीलाई अनुमति दिइएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार १२:१४