सूचनाको शक्ति - The Power Of Information

        

चरम बेतिथि

कोहलपुर नगरपालिकाद्वारा कृषि अनुदानको खुलेआम दुरूपयोग

कोहलपुर नगरपालिकाले उक्त्त नीतिको ठाडै उल्लघन गरेर कृषि अनुदानको ट्याक्टर नगर क्षेत्रको फाहोर संकलनमा लगाएको छ ।

बाँके । नागरिक तहबाटै यतिबेला कृषि अनुदानको दुरूपयोग नरोकिएको गुनासो आइरहेको छ । लुम्बिनी प्रदेश सरकराले कृषि प्रयोजनका लागि भनेर उपलब्ध गराएका सवारी साधनहरू अन्य काममा प्रयोग भैरहेको देखिएका छन् ।

प्रदेश सरकारले कृषिमा उत्पादन वृद्धि र काममा सहजताका लागि उपलब्ध गराएको कृषि औजार (ट्याक्टर) कोहलपुर नगरपालिकाले फोहर उठाउने काममा लगाएर कृषि अनुदानको खुलेआम दुरूपयोग गरेको देखिएको छ । यो त उदाहरणमात्रै हो कोहलपुर क्षेत्रमा यसरी कृषि अनुदानबाट प्राप्त सवारी साधन र औजारहरूको चरम दुरूपयोग अझै रोकिएको छैन ।

यसमा स्थानीय तहदेखि प्रदेश तथा संघीय जनप्रतिनिधिसमेतको संलग्नता देखिएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वितरण गरेको अनुदानको चरम दुरूपयोग भएपछि त्यसलाई रोक्न प्रदेश सरकारले नीति बनाएको छ । तर, उक्त नीति बाँकेको कोहलपुर क्षेत्रमा अझै कार्यान्वयन र पालना हुन नसकेको नागरिक बताउँछन ।

कृषि अनुदानलाई मितव्ययी, पारदर्शी र व्यवस्थित बनाउन अनुदान व्यवस्थापन सम्बन्धी एकीकृत मार्गदर्शन–२०७६ बनाएको हो । मागदर्शनलाई सरकारले स्वीकृत गरेको सरकार प्रवक्ता बैजनाथ चौधरीले यसअघि नै बताएका छन् । तर यसको कार्यान्वयन शुन्य छ । मन्त्रालयले वितरण गरेको अनुदान ७० प्रतिशतसम्म दुरुपयोग भएको यसअघि भेटिएको थियो ।

अनुदान जसलाई जुन उद्देश्य पूरा गर्नका निम्ति दिइएको हो त्यसमै प्रयोग भएको हुनुपर्ने प्रदेश सरकारको नीति छ तर कोहलपुर नगरपालिकाले उक्त्त नीतिको ठाडै उल्लघन गरेर कृषि अनुदानको ट्याक्टर नगर क्षेत्रको फाहोर संकलनमा लगाएको छ । कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतको ठाडो निर्देशनमा आफूहरू कृषि अनुदानको ट्याक्टरमा फोहोर उठाइरहेको उक्त ट्याक्टरका कर्मचारी बताउँछन् ।

नाम नछाप्ने शर्तमा ती कर्मचारीले भने ‘अरू हामीलाई केही थाहा छैन मेयर साबको आदेशमा हामीले यो कृषि अनुदान लेखेको ट्याक्टरमा नगरको फाहोर संकलन गर्दै आएका छौं ।’ उनले यसबाहेक अरू कुरा नगरपालिकासँग सोध्न आग्रह गर्दै थप बताउन चाहेनन् । नगरपालिकाद्धारा नै यसरी कृषि अनुदानको दुरूपयोग गरिरहेको अवस्थामा समेत प्रदेश सरकार र सम्बन्धीत निकयाले यसको अनुगमन समेत गर्न सकेको छैन ।

अनुदानका नाममा गरिएको लगानीसहित प्रयोग हुन नसकेको स्पष्ट देखिएको छ । सरकारले कृषि प्रयोजनका लागि दिएको सवारी साधन दुरूपयोग किन ? भनेर कोहलपुर नगरपालिकाका जनप्रतिनिधीसँग सोध्दा अधिकाशं जनप्रतिनिधीले यस बिषयमा आफूहरूलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन ।

कोहलपुर नगरपालिकाका मेयर रावतले यसरी दुरूपयोग भएको बारे नगरपालिकामा अहिलेसम्म गुनासो र लिखित जानकारी नआएको बताएका छन् । यदि नागरिकबाट लिखित गुनासो आएको खण्डमा यस माथि अनुगमन गर्न सकिने उनी बताउँछन । यद्दपी कोहलपुर बजारमा आजभोली कृषि अनुदान लेखेको ट्याक्टर फोहोर उठाउँदै घुमिरहेको मेयर रावतले समेत हरेक दिन देखिरहेकै छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार १०:१२