काठमाडौं । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।
बुधबार बेलुका पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आउँदो भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गर्दै त्यसअनुसार नयाँ कार्यतालिका सार्वजनिक गरेको हो।
कांग्रेसले विधानअनुसार पाँच वर्ष महाधिवेशेन गर्न नसकेपछि संविधानको धारा २६९ ले दिएको थप ६ महिनाको कार्यकाल थप गरेर भदौमा महाधिवेशन गर्ने निर्णयमा पुगेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
सार्वजनिक नयाँ कार्यतालिका अनुसार समायोजन हुन बाँकी रहेका जिल्लाको अन्तरिम संरचना फागुन १५ गतेभित्र समायोजन भइसक्नु पर्नेछ।
फागुन २८ गतेभित्र सबै जिल्लाले क्रियाशील सदस्यता नवीकरण तथा नयाँको टुंगो लगाइसक्नुपर्नेछ र असार ७ गतेभित्र केन्द्रीय कार्यसमितिले देशभरबाट आएका क्रियाशिल सदस्यताको निर्णय गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पारित नयाँ महाधिवेशन कार्यतालिका अनुसार गाउँ/नगर वडा अधिवेशन असार २० गते, गाउँ/नगरपालिकाको अधिवेशन असार २२, प्रदेशसभा क्षेत्रीय अधिवशेन असार २५, एक मात्र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असार २७ गते हुनेछ।
त्यस्तै एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश तहको अधिवेशन साउन ६ गते हुने भने केन्द्रीय महाधिवशेन भदौ ७ गतेदेखि सुरु हुनेछ।
उम्मेदवार हुन चाहिने क्रियाशील अवधि कटौती
कांग्रेसले विभिन्न तहमा उम्मेदवार हुन चाहिने न्यूनतम क्रियाशील सदस्य भएको हुनुपर्ने अवधि निलम्वन छ। महाधिवेशनले पारित गर्ने गरी केन्द्रीय कार्यसमिति बैठकले विधानमा संशोधन गरेको हो।
बैठकको निर्णयमा भनिएको छ, ‘पार्टीका विभिन्न पदमा उम्मेदवार हुन निरन्तर क्रियाशील सदस्य भएको अवधी तोकिएकोमा उक्त क्रियाशील सदस्यको “अवधी सम्बन्धी व्यवस्था” निलम्वन गर्ने।’
तर केन्द्रीय सभापति, केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य, प्रदेश सभापति, प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, महानगरपालिकाको सभापति र उपमहानगरपालिकाको सभापतिको अवधि भने निलम्वन नगरिएको कांग्रेसले जनाएको छ।
अरु पार्टीबाट आएका हरुले जुन तहमा समायोजन भएको छ त्यही तहमा र अरु तहमा उम्मेद्वार हुन समय पुगेको मानिनेछ। अरु पार्टीबाट आएकालाई केन्द्रिय कार्य समितिको उम्मेदवार हुन कम्तिमा दश वर्ष क्रियाशिल सदस्य भएको हुनुपर्ने प्रावधान निलम्वन गरिएको छ।
यस्तो छ महाधिवेशन कार्यतालिका एवं बैठकका निर्णयहरु
।