सूचनाको शक्ति - The Power Of Information

        

कोरोनामुक्त हुँदै बाँके जिल्ला

बाँके । बाँके जिल्लाको नेपालगन्जस्थित भेरी अस्पतालमा रहेको कोभिड–१९ विशेष अस्पतालमा उपचार गराइएका १४ जना सङ्क्रमित मात्र निको हुन बाँकी रहेका छन् । यो सङ्ख्यासँगै बाँके जिल्ला तत्कालका लागि कोरोना सङ्क्रमितमुक्त जिल्ला हुने अवस्था नजिक पुग्न थालेको छ ।

सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि नेपालगन्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड वार्डलाई बन्द गरेर कोरोनाका लागि भेरी विशेष कोभिड अस्पताललाई मात्र सञ्चालनमा राखिएको छ ।

भेरी अस्पतालमा रहेका १४ जना मात्र सङ्क्रमित निको हुन बाँकी रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले योसँगै सात जना सङ्क्रमित मात्र होम आइसोलेसनमा रहेको पनि बताए ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेमा हालसम्म ४५ हजार ६१९ जनामा गरिएको पीसीआर परीक्षणमा चार हजार ६५४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने चार हजार ५७६ जना सङ्क्रमणमुक्त भई घर फर्किसकेका छन् ।

जिल्लामा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ । पछिल्लो समयमा आएर जिल्लामा सङ्क्रमित निको हुने दर बढेर ९८.३२ प्रतिशत पुगेको जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार ०९:४३