सूचनाको शक्ति - The Power Of Information

        

गुल्मी जीप दुर्घटनामा तीनको मृत्यु, ६ घाइते

गुल्मी । गुल्मीको पराल्मीमा बुधबार राति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

तम्घासबाट रेसुंगा नगरपालिका–१४ पराल्मी जाँदै गरेका लु १ ज १९८८ नम्बरको जीप पराल्सीमा दुर्घटना भएको हो। दुर्घटनामा रेसुंगा नगरपालिका–१४ का ४८ वर्षीय एकबहादुर पोख्रेल, ४७ वर्षीया गोमा नेपाली र २८ वर्षीया शान्ता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ।

उनीहरुमध्ये एकबहादुरको घटनास्थलमै र अन्य दुई जनाको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए।

त्यस्तै दुर्घटनामा रेसुंगा नगरपालिका–१४ का जीप चालक २२ वर्षीय भरत पोख्रेल, २७ वर्षीय वीरबहादुर सुर्यवंशी, ३७ वर्षीया गोमा सामत, ६५ वर्षीय देवबहादुर नेपाली, २७ वर्षीय प्रकाश नेपाली र  साढे चार वर्षीया खुसी नेपाली घाइते भएका छन्।

घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको छ। चालक भरत र वीरबहादुरको गुल्मी अस्पतालमा उपचार हुन नसकेपछि लुम्बिनी मेडिकल प्रभास, पाल्पा लगिएको छ।

ओसेपिलो ठाउँमा जिप चिप्लिएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार ०८:१५