बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेको छ ।
राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पुर्ण प्रक्रिया पुरा गरी १६ देखी २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चितता गरिएकाले घोषणा गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर ६ यस अघिनै पूर्ण खोप सुनिश्चितता घोषणा भईसकेको थियो भने वडा नम्बर १ देखि ५ सम्म बुधवार घोषणा गरिएको छ । नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले एक औपचारिक समारोहका बीच पूर्ण खोप गाउँपालिका भएको घोषणा गरेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथी अध्यक्ष शाहले घोषणा गर्ने मात्र नभएर आगामी दिनमा पनि खोप अभियानलाई निरन्तरता दिन सक्नुपर्ने बताए ।
उनले पूर्ण खोप घोषणा गर्दै गर्दा महिला स्वास्थ्य स्वयं सेविकाको योगदानलाई गाउँपालिकाले भुल्न नहुने सुझाव दिए । ‘महिला स्वास्थ्य स्वयं सेविकाहरुको यसमा महत्वपुर्ण भुमिका छ, गाउँपालिकाले उहाँहरुको योगदान लाई सधै याद राख्ने र सेवा सुबिधामा कमी हुने छैन,’ शाहले भने ।

नरैनापुर गाउँपालिका अध्यक्ष शाहले सबैको सहयोग र सहकार्यले गाउँपालिकाको सबै वडालाई पूर्ण खोप घोषणा गर्न सम्भव भएको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले पूर्ण खोप घोषणा गरेपनि यसलाई दिगोपना दिनका लागि समय–समयमा अनुगमन गरिने बताए ।
‘अहिले घोषणा गरेपनि पछि कुनै समस्या आउन सक्छन्, यस अभियानमा हामी सक्रिय रुपले लाग्नेछौं, यो घोषणा पूर्ण रुपले कार्यान्वयन होस्,’ उनले भने । गाउँपालिका भित्रका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम सेविका लगायत कर्मचारी, जनप्रतिनिधिहरुको सहयोगले सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सजिलो भएको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीले सबैलाई धन्यवाद समेत दिए ।
उक्त कार्यक्रममा नरैनापुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोल्हे बेहना वडा नम्बर २ का वडाध्यक्ष मसुद अलि शाह वडा नम्बर ३का वडाध्यक्ष राजकुमार मौर्य, सुचना अधिकारी लक्ष्मीकान्त मिश्रा तथा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार शाह लगायतले बोलेका थिए ।
सो क्रममा पूर्ण खोप घोषणाका लागि महत्वपुर्ण योगदान पुर्याए वापत विभिन्न सँस्था तथा स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार शाहले सन्चालन गरेको कार्यक्रमको अध्यक्षता वडा नम्बर २ का वडाध्यक्ष मसुद अलि शाहले गरेका थिए भने कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, स्वास्थ्यकर्मी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
।