सूचनाको शक्ति - The Power Of Information

        

भागरथी हत्या प्रकरण

पुरानो रिसइबीले भागरथीको हत्या

बैतडी । दोगडाकोदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा सोही करिब १७ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ती किशोरले अपराध स्वीकारेको प्रहरीको दाबी छ । ती किशोरलाई आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उनले भने, ‘नियन्त्रणमा रहेको व्यक्तिको नाम र सबै कुरा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्छौं, अहिले नै सबैकुरा नखोलौं ।’ गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दा माघ २२ गते स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् । भागरथी दोगडाकेदार–३ श्रीकोटस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत रहेकी थिइन् ।

पक्राउ परेका किशोर पनि सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत हुन् । उनी माघ २१ गते विद्यालयमा हाजिर रहेको सनातन धर्म माविका प्रधानाध्यापक वलदेव नाथले जानकारी दिए । ती किशोरले माघ २१ गते नै भागरथीको हत्या गरेको प्रहरीले बताएको छ । खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक पुग्दा सडकबाट धकेलेर भीरमा खसालेको र त्यसपछि घाइते भएकी भागरथीलाई हत्या गरेको किशोरले बताइएकोले प्रहरी समक्ष भनेका छन् ।

घरायसी पुरानो रिसिइबीका कारण भागरथीको हत्या गरेको किशोरले बयानमा बताएको प्रहरीको भनाई छ । ती किशोर यसअघि भागरथीको न्यायका लागि गरिएका आन्दोलनमा समेत सहभागी रहेको प्रहरीले जनाएको छ । भागरथीको शव हालसम्म जिल्ला अस्पतालमै छ । पीडित परिवारले हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान राख्दै आएका छन् । पोष्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको बताइएको छ ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ । टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिकहरु रहेका छन् । अनुसन्धानका लागि आएको टोली १२ दिनदेखि खोचलेक प्रहरी चौकीमै रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार ०९:३२