सूचनाको शक्ति - The Power Of Information

        

अपराध

भागरथीलाई बलात्कारपछि हत्या गरेको स्वीकार, पक्राउ परे अपराधी

आज सार्वजनिक गर्दै प्रहरी

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेका छन् । स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी ।

प्रहरी स्रोतका अनुसार दिनेश भट्ट नाम गरेका ती छात्रलाई आज बुधबार बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ । माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् ।

माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजेमात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।

भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अपराधी गएको बाटो देखाए पनि अपराधीको घरसम्म पुग्न सकेको थिएन ।

भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको टोलीले ती शंकितलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरी बैतडीसमेत पुर्याएको थियो । यद्यपि, अहिले उनकै विद्यालयका एक छात्रले भागरथीको बलात्कार र हत्या गरेको स्वीकार गरेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार ०८:२६