सूचनाको शक्ति - The Power Of Information

        

घर खर्च चलाउन सडकमा गीत गाउँदै दृष्टिविहीन

बझाङ । पारिवारिक अवस्था कमजोर भएकाले गीत गाएर स्रोताले दिएको पैसाले एकजना दृष्टिविहीन घर खर्च चलाउँदै आएका छन् । बाजुरा त्रिविणी नगरपालिका–२ पुख्र्याैली घर भएका सर्जन बुढा सुदूरपश्चिमका तराई र पहाडी जिल्लाका बजार क्षेत्रमा गीत गाएर स्रोतासँग आर्थिक सहयोगको अपेक्षा गर्दछन् ।

सोमवार बझाङ सदरमुकाम चैनपुरमा पनि साउण्ड बक्स साथमा लिएर नेपाली गीत गाउँदै थिए । सुमधुर स्वरका धनी सर्जनले गाएका मनछुने गीत सुनेर बाटोमा हिँड्ने बटुवाले सक्दो आर्थिक सहयोग गरेका थिए । अहिले उनी कैलालीको राजीपुरमा बस्दै आएका छन् । ‘श्रीमती पनि म जस्तै दृष्टिविहिन छ, घरमा खान बस्न समस्या छ,’ चैनपुरको चौराहमा गीत गाइरहेका सर्जनले भने, ‘घर खर्च चलाउन र छोराको भविष्यका लागि पनि पैसाको जोहो गर्न गीत गाउँदै हिँडेको छु ।’ उनले गीत गाएर आर्थिक संकलन गर्दै हिँडेको दुई वर्ष भएको बताए ।

स्रोतले उनलाई १० देखि १०० रुपैयाँ दिने गरेको उनले बताए । ‘एक छोरा छ, उसलाई धनगढीको कालीका मावि गौरीगंगामा नर्सरीमा भर्ना गरेको छु,’ उनले भने । छोराको पढाइ शुल्क, अन्य खर्च र घरपरिवारको खान बस्नका लागि पनि यसरी आफ्नो कला पोखेको उनले बताए । ‘मसँग गीत गाउने कला थियो,’ सर्जनले भने, ‘त्यसै भिख माग्नुभन्दा गीत सुनाएर आर्थिक सहयोग माग्छु ।’ आफ्नो दयनीय अवस्था देखेर सानो बस्ने घर परोपकारी व्यक्तिहरु मिलेर बनाइदिएको पनि उनले बताए । सानो छोरालाई राम्रोसँग पढाएर सरकारी नोकरी गराउने उनको सपना छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार ०८:०६